विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्य गर्दै सेवामुखी र पारदर्शी प्रणाली विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ शाखाको ५३औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएकाले औषधि व्यवसायलाई अझ व्यवस्थित, मर्यादित र उत्तरदायी बनाउन आवश्यक रहेको बताए ।
उनले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा क्षेत्रका विद्यमान समस्या समाधानका लागि प्रदेश सरकार व्यवसायीहरूसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
‘स्वास्थ्य क्षेत्रलाई विश्वसनीय र प्रभावकारी बनाउन सबै पक्षको साझा प्रयास आवश्यक छ,’ मन्त्री लिम्बूले भने ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालले औषधि व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्या समाधानका लागि व्यवसायीहरू एकजुट हुनुपर्ने धारणा राखे ।
उनले औषधि व्यवस्था विभागका केही नीति तथा निर्णयहरू व्यवसायीमैत्री नभएको गुनासो गर्दै त्यस्ता विषयमा पुनर्विचार आवश्यक रहेको बताए ।
असार ४ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम बुधबार संघको आफ्नै भवनमा सम्पन्न भएको थियो ।
समापन समारोहमा खेलकुद तथा संस्थाको विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य प्रदीप दास तथा कोशी प्रदेश अध्यक्ष धनराज काफ्लेले शुभकामना व्यक्त गर्दै औषधि व्यवसायीहरूको पेशागत सुरक्षा, व्यवसायिक अधिकार र संगठनको भूमिकाबारे चर्चा गरेका थिए ।
View : 24
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved