Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एक महिनाअघि दम्पतीको हत्या भएकै गाउँमा अर्का दम्पतीको हत्या

उद्‌घोष संवाददाता
१३ माघ २०८२, मङ्गलवार

फाइल फोटो

विराटनगर । एक महिनाअघि दम्पतीको हत्या भएको ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेमा पुनः अर्का दम्पतीको हत्या भएको छ ।

प्रहरीले लामो अनुसन्धानपछि अघिल्लो हत्याको घटनाका संलग्न पक्राउ समेत गरिसकेको छ । तर त्यो घटना सेलाउन नपाउँदै भदौरेमै ८० वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको हत्या भएको हो ।

अघिल्लो पटक झै‌ं घरमा लुटपाट गरेपछि यसपटक पनि दम्पतीको हत्या भएको चिसंखुगढी–६ का वडाध्यक्ष बलराम कटवालले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले दम्पति हत्याको घटना भएको पुष्टि गर्दै आफैं घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिए । 

उनले घटनास्थलमा प्रहरी टोली भने पुगिसकेकोले अनुसन्धान अघि बढिसकेको बताए । 

हत्या गरिएका राई दम्पती सोही ठाउँमा पसल संचालन गर्दै आएका थिए । 

हत्या भएका चन्द्रविक्रमको शव घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा र उनकी श्रीमती चन्द्रमाया शव खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

मंगलबार विहान ७ः४० बजेतिर मात्रै उनीहरूको हत्या भएको जानकारी प्रहरी चौकी निशंखेले पाएपछि त्यहाँबाट टोली परिचालन भएको थियो । 

चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा बास्तोलाले अहिले गाउँघरमा युवाहरु कामको शिलशिलामा बाहिर हुने र गाउँमा बढी बुढापाका मान्छे नै अहिले बस्ने गरेको अवस्थामा उनीहरुको श्रृंखलावद्ध रुपमा हत्या हुनुले ठुलो सुरक्षा चुनौति देखिएको बताए । घटनापछि गाउँघरमा सन्त्रास पैदा गरेको बताए ।

‘राज्यले गहिरो अनुसन्धान गरेर दोषी नउम्किने गरी अघि बढ्नुपर्छ, समुदायले अनुसन्धानलाई सहयोग गर्छ, समाजमा यस्ता अपराधी बस्ने अवस्था नहोस्’ अध्यक्ष बास्तोलाले भने, ‘अहिले कतिपय घरमा त दुईजनामात्रै बस्ने अवस्था छ, बुढापाका मात्रै पनि छन्, यस्तो घटनाले ठुलो सुरक्षा चुनौति थपिएको छ, जो सुकै अपराधी भएपनि कानुनी दायरामा छिटो आउने छ ।’

गत पुस १५ मा भदौरेस्थित शोभितमान किराना पसलका संचालक ६० वर्षीय सोवितमान मगर र उनकी श्रीमति ६० वर्षीया रत्नमाया मगरको लुटपाटपछि हत्या भएको थियो ।

उक्त घटनामा ओखलढुंगा प्रहरीको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय र सिआईबीको समेत अनुसन्धान टोली खटिएर चार जनालाई पक्राउ गरी कानुनी कारवाही अघि बढाइसकेको छ ।

तर, अघिल्लो हत्याको घटनाको त्रास हट्न नपाउँदै सोही गाउँमा अर्को घटना भएको हो ।

View : 208

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved