तयारी कक्षामा सहभागी कटहरीका युवा । तस्वीर : कमल/उद्घोष
विराटनगर । परम्परागत मजदुरी र त्यसबाट पाइने प्रतिफलले धान्न नसक्ने अवस्था आएपछि गाउँले युवालाई सरकारी सेवामा प्रेरित गर्न थालिएको छ । सेवा प्रवेशका लागि स्थानीय सरकारले निःशुल्क प्रशिक्षण दिन थालेको छ ।
मोरङको कटहरी गाउँपालिकाले पनि सरकारी जागिरमा जान चाहने युवालाई प्रशिक्षण दिन थालेको हो । पहिलो चरणमा लोकसेवा आयोगको परीक्षा दिन चाहने युवालाई सोमबारदेखि ४५ दिने तालिम सुरु गरिएको छ । तालिममा लोकसेवाको परीक्षा दिन चाहने ६० जना सहभागी छन् ।
गाउँका युवामा सेना र प्रहरीमा मात्रै आकर्षण रहेकाले लोकसेवाको परीक्षामा सामेल गराउने उद्देश्यले तालिम दिइएको पालिकाले जनाएको छ । शिक्षित युवा खाडी मुलुकमा गएर काम गर्ने भन्दा पनि नेपालमै सरकारी जागिर खाएर खुसी हुन सकून् भन्ने उद्देश्यले तालिम दिइएको पालिकाले जनाएको छ ।
पालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार सेना, प्रहरीमा नभएर कुबेत जाने चलन रहेकाले त्यसलाई कम गर्न युवालाई लोकसेवाको आकर्षण दिइएको हो । उनको घर भएको गाउँमा धेरैजसो घरमा युवाहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत छन् ।
फौजमा जाने युवाको संख्या बढी देखिए पनि लोकसेवाको परीक्षा दिएर सरकारी सेवामा प्रवेश गर्नेको संख्या कम भएकाले तालिम दिएर त्यसतर्फ आर्कषण गर्न लागिएको उनले बतँए । उनका अनुसार सुरक्षा निकायमा जान चाहने युवाहरूका लागि पनि अलग्गै निःशुल्क तालिम पालिकाले दिने तयारी गरेको छ ।
‘गाउँका आदीवासीहरू शिक्षा सेवामा मात्रै ध्यान दिए, बाबु शिक्षक भएपछि छोरा पनि शिक्षक भए । अहिले अवस्था फेरिएको छ, युवाहरू सेना प्रहरीमा पनि जान थालेका छन्’ अध्यक्ष चौधरीले भने । आङ्खनो गाउँमा प्रहरीको सहायक निरीक्षकबाट उपरीक्षकसम्म भएका एक जना अग्रजलाई देखेर युवाहरू फौजमा जाने क्रम बढेको उनले बतँए ।
कटहरीका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले लोकसेवाबाट अधिकृतमा पास गर्नेहरूको ठेगाना हेर्दा मोरङबाट भेट्न गाह्रो हुने बताए ।
‘कुनै बेला लोकसेवामा पास हुने धनकुटाका मात्रै बढी हुने भएकाले आयोगको क्षेत्रीय कार्यालय धनकुटामा खुलेको थियो’ गौतमले भने, ‘लोक सेवामा धनकुटापछि खोटाङ र झापाका मानिस थिए ।’
एउटा परिवारको मानिस लोकसेवाबाट सरकारी सेवामा प्रवेश गरे छिमेकीका धेरैले सोही बाटो अपनाएको उनको भनाइ छ ।
एसएलसीपछि खरिदारको परीक्षा पास गरेर उच्च शिक्षा पढ्न कर्मचारीले क्याम्पस भएको ठाउँमा सरुवा मिलाउँथे । गौतमका अनुसार जागिरकै क्रममा पढ्दै दशजोड दुईको परीक्षा सकी सुब्बा र स्नातक गरेर अधिकृत भएका धेरै मानिस छन् । पढाइमा लागुऔषधको जस्तै नसा भए मात्रै लोकसेवा पास हुन सकिने उनले प्रशिक्षार्थीलाई सुझाव दिए ।
कटहरीले शिक्षा सेवा र सेना प्रहरीमा जान चाहने युवाहरुका लागि पनि यस्तै कक्षा सञ्चालनको तयारी गरेको छ ।
प्रशिक्षणका लागि सम्बन्धित निकायका कार्यालय प्रमुखहरूलाई प्रशिक्षकको रुपमा कटहरीले प्रस्तुत गर्दैछ । लोकसेवाका लागि विराटनगरमा रहेका कार्यालयका प्रमुखहरूलाई प्रशिक्षकका रुपमा ल्याइने बताइएको छ ।
View : 122
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved