Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

बुकविल्डिङबाट महँगो आइपिओको निस्काशन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको लाइन काटियो

वित्तीय विवरणमा गडबडी गरेर महँगो आइपिओ निस्कासन गर्न लागेको भन्दै चर्किएको विवादका कारण धितोपत्र बोर्डले बुधबार नै उक्त आइपिओ निस्कासन प्रक्रिया स्थगन गरिएको जनाएको छ ।
उद्घोष सम्वाददाता
२६ असार २०८१, बुधवार

विराटनगर । प्राथमिक साधारण शेयर (आइपिओ) को इतिहासमै सबैभन्दा महँगो मुल्य तोकेर आइपिओ बिक्री गर्न लागिएको रिलायन्स स्पिनिङ मिल्सको बिद्युत् लाइन काटिएको छ । नेपाल धितोपत्र बोर्डको अनुमतिमा बिहीबारदेखि हालसम्मकै महँगो आइपिओ जारी गर्न लागेको रिलायन्सको विद्युत लाइन प्राधिकरणले काटिदिएको हो ।

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर त्यस वापतको महसुल नतिरेको भन्दै उक्त उद्योगको लाइन मङ्गलबार राती ९ बजेतिर काटेको जनाइएको छ ।  सुनसरी– मोरङ औद्योगिक क्षेत्रभित्र रहेको रिलायन्स स्पिनिङले एग्रेलिक यार्न (धागो) उत्पादन गरेर भारत, टर्की लगायतका मुलुकमा निर्यात गर्दै आइरहेको छ । 

महिला पुरुष गरी ४ हजार मजदुर कार्यरत रहेको रिलायन्सले दैनिक १४ मेगावाट विद्युत खपत गर्दै आइरहेको उद्योग स्रोतको दाबी छ ।

‘राती ९ बजे लाइन काटियो, हामीले दैनिक १४ मेगावाट विद्युत खपत गर्दै आइरहेका छौं, विद्युत काटिए पनि उद्योगको उत्पादन बन्द भएको छ, चार हजार मजदुरको रोजिरोटी बन्द भएको छ’ उद्योग स्रोतले भन्यो, ‘नियमित महसुल हामीले तिरिरहेका छौँ, विवादित महसुलबारे छानबिन आयोग बनेको छ, प्रतिवेदन पनि कुलमानले अहिलेसम्म लुकाइरहेका छन्, हाम्रोबाट थप कुनैपनि महसुल तिर्न बाँकी छैन ।’ 

प्राधिकरणले रिलायन्स ६० करोड २९ लाख रुपियाँ महसुल तिर्न बाँकी रहेको र त्यसमा थप २५ प्रतिशत जरिवाना पनि दाबी गरिरहेको छ । 

उद्योग र प्राधिकरणबीचको विद्युत महसुलको विवाद चलिरहेको बेला रिलायन्सले असार २७ गतेदेखि महँगो आइपिओ बुक बिल्डिङ प्रक्रियाबाट निस्कासन गर्ने तयारी गरेको थियो । उक्त आईपीओको मूल्य बढी भएको विषयमा नेपाल धितो पत्र बोर्डमा उजुरी पर्नुका साथै प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले समेत चासो देखाएको छ । 

वित्तीय विवरणमा गडबडी गरेर महँगो आइपिओ निस्कासन गर्न लागेको भन्दै चर्किएको विवादका कारण धितोपत्र बोर्डले बुधबार नै उक्त आइपिओ निस्कासन प्रक्रिया स्थगन गरिएको जनाएको छ । 

आईपीओ निष्कासन हुनै लागेको बेला प्राधिकरणले पुरानो महसुल विवादलाई देखाएर लाइन काटिदिएको हो ।

रिलायन्स स्पिनिङ मिल्स उद्योगीहरू पवन कुमार गोल्यान र शशिकान्त अग्रवालको मुख्य लगानी रहेको पब्लिक लिमिटेड लगानी हो । यो उद्योगको मुख्य दुईवटा फ्याक्ट्रीहरूमा प्लान्ट ए खनार र प्लान्ट बि दुहबीमा रहेको जनाइएको छ ।

View : 223

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved