प्रतिनिधिसभा उम्मेदवारमा पुरानै अनुहार हावी
विराटनगर । नेपाली कांग्रेस मोरङमा प्रतिनिधिसभाका लागि पुरानै अनुहारको वर्चश्व हुनेगरी उम्मेदवारहरु सिफारिस भएका छन् ।
नयाँ पुस्तालाई अघि बढाउनुपर्ने देशव्यापी दबाबको चरम बेवास्ता गर्दै कांग्रेस मोरङका छ वटै क्षेत्रीय समितिहरुले यसअघि पटक पटक अवसर पाइसकेकाहरुकै नाम सिफारिस गरेको छ ।
कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बूले बिहीबार जिल्लाका छवटै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिसमा परेकाहरुको नाम सार्वजनिक गरेका छन् ।
यसअघि धेरै अवसर पाइसकेका र पाकाहरुकै बाहुल्य हुनेगरी नाम सिफारिस गरिएकोबारे उद्घोषले उनलाई सोधेको छ ।
जवाफमा सभापति लिम्बूले नयाँ पुस्ताले इच्छा नै नगरेको, इच्छा जाहेर गरेकाहरु पनि आफैं पछि हटेको दाबी गरे ।
‘राजनीतिमा नयाँलाई अघि बढाउनुपर्छ भन्ने माग उठेर मात्रै हुँदैन, युवाहरु आफैं अग्रसर भएर आउनुपर्छ,’ उनले भने ‘हामीले युवाहरुलाई आह्वान गरेको हो । तर, धेरैले इच्छा देखाएनन् । इच्छा गर्नेहरु पनि आफै पछि हटे ।’
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि नेपालका सबैजसो दलहरुभित्र पुस्तान्तरणको बहस र दबाब तीव्र भएको छ । अझ कांग्रेसका दुई महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा पुस्तान्तरणको बहस तीव्र भइरहेको छ ।
देशव्यापी रुपमा उच्च भएको यही बेला मोरङ कांग्रेसका क्षेत्रीय समितिहरुले पुरानै नेताहरुको बाहुल्य हुनेगरी उम्मेदवार सिफारिस गरेको हो ।
मोरङका दुईवटा क्षेत्रबाट त एक–एक जनाको नाम सिफारिस गरेर कांग्रेसले अन्यको कुनै सम्भावना नै नभएको सन्देश दिएको छ ।
मोरङ क्षेत्र नम्बर १ बाट जिल्ला सभापति डिकबहादुर लिम्बू, कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री तथा उर्लाबारीका पूर्वमेयर खड्ग फागो र दिव्या बस्नेतको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । सभापति लिम्बूले २०५४ को स्थानीय निर्वाचनसहित हालसम्म चारवटा चुनाव लडिसकेका छन् ।
तीमध्ये दुईमा जीत र दुईमा हार खेपेका उनले आफू समग्रमा पाँचौपटक चुनाव लड्ने तयारीमा लागेको जानकारी दिए । मोरङ–१ बाट समानुपातिकतर्फ सीता कार्की र इन्दुदेवी चौधरीको नाम सिफारिस भएको छ ।
क्षेत्र नं २ बाट पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल, पूर्वप्रदेश सांसद शिवनारायण सिंह गनगाई र नारायणी पण्डितको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
२०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ पराजित भएकी सुजाता कोइरालाको नाम यो क्षेत्रबाट यसपटक समानुपातिक सूचीमा सिफारिस भएको छ ।
मोरङ–३ बाट डा. सुनिल शर्माको एकल नाम सिफारिस भएको छ । उनी २०७९ मा यही क्षेत्रबाट चुनाव जितेका थिए । यो क्षेत्रबाट प्रत्यक्षतर्फका आकांक्षी रहेका पूर्वप्रदेश सांसद सुयर्माराज राई, पुराना नेता बसन्त भट्टराई, अताबुल मन्सुर, भौंसीदेवी खवास, पम्फा धिमाल, रुक्मिणी धिमाल र रेखबहादुर तामाङको नाम समानुपातिक सूचीमा सिफारिस भएको छ ।
त्यसैगरी क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री महेश आचार्यसहित दिलीपकुमार गच्छदार, गुरुराज घिमिरे, विनोद बस्नेत र दुर्गा कोइरालाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
२०७९ को निर्वाचनमा माओवादीसहितका दलहरुसँग गठबन्धन हु“दा यो क्षेत्र कांग्रेसले छाडेको थियो ।
२०७४ मा महेश आचार्य पराजित भएको क्षेत्र हो । यो क्षेत्रबाट समानुपातिकतर्फ भक्तिनाथ माझी, विश्वनाथ रिजाल, रामकुमार विश्वकर्मा, उदय राजवंशी, चन्दन चौधरी, मनोज परियार र विजय माझीको नाम सिफारिसमा परेको छ ।
क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ हसन अन्सारी, राजेश गुप्ता, फूलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ रामनारायण केवरत, अर्जुन निरौला, सुवोधकुमार सिंह, जंगदेव साह, कमला श्रेष्ठ, आश्विनी मण्डल र मीना मुर्मुको नाम सिफारिस भएको छ ।
मोरङ–६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिश भएको छ । राष्ट्रिय सभाका पूर्व संसदीय दलका नेता रमेशजंग रायमाझी र डा. डिला संग्रौलाको नाम समानुपातिक सूचीमा राखिएको छ ।
संग्रौला २०७४ मा समानुपातिक सांसद भएकी नेता हुन् । यो क्षेत्रबाट रुक्मिणी कोइराला, प्रमिलाकुमारी गच्छदार, मृदुला कोइराला, सीता पोखरेल र सरिता थापा मगर समानुपातिकमा सिफारिस भएका छन् ।
राष्ट्रियसभा सदस्यका लागि मोरङ क्षेत्र नं ६ ले उद्योगी महेश जाजूलगायतको नाम सिफारिस गरेको छ ।
View : 290
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved