विराट ट्रेड एक्स्पो २०२५ स्टल भिजिट
विराटनगर । तेह्रथुम म्याङलुङकी विमला केरुङ अधिकांश मेला, प्रदर्शनी छुटाउँदिनन् । मेला, प्रदर्शनीमा आफ्ना उत्पादन भरमार बिक्री हुन्छ भनेर चाहिँ उनले दौडधुप गरेकी होइनन् ।
विराटनगरमा जारी विराट ट्रेड एक्स्पो जस्तो प्रदर्शनीले आफ्नो काम र सीपको प्रचार हुने मोहले उनलाई हरबखतजसो यस्ता प्रदर्शनीमा सहभागी होउँहोउँ बनाउँछ । उसो त शुद्ध घरेलु उद्योग सञ्चालन गरेकी उनलाई प्रदर्शनी स्थलमा स्टलको खासै मुल्य तिर्नुपर्दैन ।
तेह्रथुम उद्योग वाणिज्य संघले लिएको एक्स्पोको हल नं. २ को स्टल नं.११८ मा उनको सीपमात्र प्रदर्शन भएको छैन, ढाकाका विभिन्न सामग्री किन्नेका चासो पनि बढेको छ ।
विमला सञ्चालक रहेको चोलुङ ढाका कपडा उद्योगको तानबाट बनेका विभिन्न प्रकारका सामग्रीको प्रदर्शनीले मेलाको मौलिकतामा साथ दिएको छ ।
स्वदेशी सामान र स्वदेशी उद्योगको प्रवद्र्धनका लागि भनेर लगाइएको ट्रेड एक्स्पोमा तेह्रथुमे ढाका उद्योगको यो स्टल आयोजकको उद्देश्य र नारासँग मेल खाने स्टल हो ।
धेरै जनाको श्रम र सीप प्रयोग हुने भएकाले अन्य मेसिनले बनेका कपडाको तुलनामा ढाकाको कपडाबाट बनेका सामग्री केही महङ्गो हुन्छ । त्यसो त विमला आफै पनि ढाकाका कपडालाई अब आवश्यकताको जोहोमात्रै भन्न नमिल्ने बताउँछिन् ।
‘ढाका अब सोख पनि हो’ उनको यो भनाइले ढाकाका पारखी आफै खोजीखोजी कपडा किन्न आइपुग्छन् ।
उनको स्टलमा यतिखेर जाडो छल्नका लागि दौरा सुरुवाल, कोटका कपडामात्रै छैनन्, गर्मीका लागि लगाउन मिल्ने कपडाहरू पनि छन् ।
परम्परागत तानमा हातैले बुन्ने ढाका कपडा विशेष गरी टोपी, सल, सारी, कुर्ता, कोट, झोला तथा विभिन्न सजावटी सामग्रीमा प्रयोग हुने गरेको छ ।
उनको स्टलमा ढाकाबाट बनेका हाते पर्स, टोपी, रुमाल, टाइलगायत विभिन्न थरीका सामान पाइन्छ । जसको मुल्य दुई सयदेखि २० हजारसम्म छन् । जहाँ ग्राहकले केही छुट पनि पाउँछन् ।
View : 351
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved