Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

आफू ठिक हुनुहोस्, अख्तियारले केही गर्दैनः मुख्यमन्त्री  कार्की

उद्घोष सम्वाददाता
१७ पुष २०८०, मङ्गलवार

विराटनगर, १७ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कर्मचारी र जनप्रतिनिधिहरूलाई इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न सुझाव दिएका छन् । उनी भन्छन्, ‘आफू ठिक हुनुहोस् । अख्तियारले केही गर्दैन । तर, गल्ती गर्‍यो भने अख्तियारले छाड्दैन । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले मंगलबार विराटनगरमा  आयोजना गरेको कोशी प्रदेशस्तरीय ‘भ्रष्टाचार नियन्क्रण तथा सुशासन’ सम्बन्धमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मुख्यमन्त्री कार्कीले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने सुझाव दिँदै हामीलाई हाम्रो संस्कार र सामाजिक परिवेशले पनि भ्रष्ट बनाएको विचार राखे । उनले अख्तियार भित्र पनि ढिलासुस्ती र भ्रष्टाचार छ, त्यसलाई कसले हेर्ने भन्दै अख्तियारलाई प्रश्न गरे । 

मुख्यमन्त्री कार्कीले निजी क्षेत्र पनि सरकारकै अंग हो भन्दै निजी क्षेत्रलाई दुःख दिन थाल्यो भने त्यो प्रवृत्तिले सरकारलाई असफल बनाउने विचार व्यक्त गरे । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको अध्यक्षमा भएको कार्यक्रमका सहभागीले उठाएका प्रश्नहरूको जवाफ दिँदै समयलाई ध्यान दिएर विकासे योजनाहरूमा गुणस्तरीय काम गर्न आग्रह गर्दै सबैले असल नियतले काम गरे भ्रष्टाचारै नहुने बताइन् । उनले अख्तियारले चिठ्ठी काट्यो भन्दैमा कुनै पनि काम नरोक्न सल्लाह दिइन् । 

कोशी प्रदेशका निमित्त प्रमुख सचिव ईश्वर गिरीले प्रदेशका सबै कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए । उनले कर्मचारीहरू सरूवा भइरहने हुँदा उसको भूमिका ठाउँ अनुसार अलग हुने बताए ।

सो कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयका प्रमुख सुरेश नेउपाने र काठमाडौंको टंगालस्थित केन्द्रीय कार्यालयमा कार्यरत सहन्यायाधीवक्ता पूजा खत्रीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

View : 140

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved