Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

मिर्मिरेको नियमावली लागू नगर्न माग गर्दै नेरुडे–मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित

उद्घोष सम्वाददाता
४ वैशाख २०८१, मङ्गलवार

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्जर भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । 

मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई कर्मचारीहरूले बहिष्कार गरेका हुन् ।

नेरुडेकै नियमावली लागू हुने सहमति अनुसार मर्ज भए पनि अहिले आएर मिर्मिरेको नियमावली लागू भएको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन् । बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडेले व्यवस्थापन पक्षलाई गत चैत ३० गते विगतमा भएका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण पत्र समेत पठाएको थियो ।

तर व्यवस्थापन पक्षले बेवास्ता गरेपछि आन्दोलित हुनुपरेको कर्मचारी यूनियन अध्यक्ष रामप्रसाद ढुंगानाले बताए ।

मर्ज भइसकेपछि व्यवस्थापन पक्षले साबिकको नेरुडेका कर्मचारीहरूलाई सम्झौता भन्दा फरक व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको ढुंगानाले बताए ।

कर्मचारी यूनियन र व्यवस्थापन पक्षबीच भएको सम्झौता व्यवस्थापन पक्षबाट सम्बोधन हुनेगरी कदम नचालिएको अवस्थामा आन्दोलनमा उत्रने र यसको जिम्मेवारी व्यवस्थापन पक्ष हुने भन्दै यूनियनले व्यवस्थापन पक्षलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

दुई ग्रेडको रकम बहिष्कार गर्ने, नेरुडे मिर्मिरेद्वारा आयोजित सोमबारको कार्यक्रम बहिष्कार गर्दै सम्पूर्ण कामकाज ठप्प गर्ने साथै आवश्यकताअनुसार आगामी कदम चाल्ने भन्दै व्यवस्थापन पक्षलाई पत्र पठाएको र सोहीअनुसार  सोमबारको कार्यक्रम बहिष्कार गरिएको कर्मचारी यूनियन अध्यक्ष ढुंगानाले उल्लेख गरे ।

व्यवस्थापन पक्षले साबिकको मिर्मिरेमा कार्यरत कर्मचारीको मात्रै तलब बृद्धि गरेको साबिकको नेरुडे र हालको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचरी शिवकुमार मेहताले बताए । 

व्यवस्थापन पक्षले आफ्ना मागहरू सम्बोधन गर्छ भन्ने विश्वास रहेको साबिकको नेरुडे हालको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी भुवन अधिकारीले बताए । उनले व्यवस्थापन पक्षले तत्कालै मागहरू सम्बोधन गर्न अग्रसर हुनुपर्ने बताए ।

आन्दोलनमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कार्यरत देशैभरका कर्मचारीहरू उपस्थित थिए ।

View : 88

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved