Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधन, कार्गो रेलबाट सबै सामान ल्याउने बाटो खुला

पारवहन सन्धिको प्रोटोकल अनुसार नेपालले रेलमार्फत् कोइला, क्लिङ्कर, सिमेन्ट र रासायनिक मल गरी चारवटा ‘बल्क कार्गो’ मात्रै भारतबाट ल्याउन पाउने व्यवस्था थियो । प्रोटोकल संशोधन गरी बल्क कार्गोको परिभाषालाई व्यापकता प्रदान गरेको जनाइएको छ ।
उद्‌घोष संवाददाता
१ मंसिर २०८२, सोमवार

विराटनगर । उद्घाटनपछि विराटनगरको एकीकृत भन्सार चौकीको रेल यार्डमा फर्किएर नआएको कार्गो रेल सेवा सञ्चालनका लागि हालै नेपाल भारत पारवहन सन्धिको प्रोटोकल संशोधनले नयाँ आशा पलाएको छ ।

भारतसहित तेस्रो मुलुकबाट गरिने आयातमा करिव ६० प्रतिशतसम्म लागत घट्ने दाबी गरिएको बथनाहा–विराटनगर कार्गो रेल सेवालाई अहिलेकै अवस्थामा सञ्चालनमा ल्याउँदा चारवटा वस्तुमात्रै आयात गर्न पाउने पारवहन सन्धिको व्यवस्था हट्ने निश्चित भएको हो । 

सन्धिको प्रोटोकल संशोधन निश्चित भएपछि नेपालले अब रेलमार्फत् विराटनगर भन्सारको यार्डमा सबै प्रकारका मालसामान आयात–निर्यात गर्न पाउने बाटो खुलेको हो । त्यसका लागि दुवै देशका अधिकारीहरूले नयाँ व्यवस्था लागू गर्ने प्रक्रियालाई चाँडै अघि बढाउन सहमत भएका छन् । 

यो व्यवस्था कार्यान्वयन हुँदा विराटनगर भन्सारबाट हुने गरेको पारवहनको लागत ठूलो मात्रामा घटाउने उद्योगी व्यवसायीहरूको भनाइ छ । साथै ढुवानीको समय पनि घटेर भारतसँगको विद्यमान व्यापार पहुँच थप सहज हुने दाबी गरिएको छ ।

२०८० जेठ १८ मा भारतको बथनाहाबाट २ हजार ४०० टन औद्योगिक कच्चा पदार्थ बोकेको ¥याक लिएर आएको पहिलो कार्गो रेल त्यसपछि दोस्रो पटक विराटनगर आएको छैन । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट बथनाहा–विराटनगर ८ किलोमिटरको कार्गो रेल चलेको जनाउ दिंदै ‘हरियो झण्डा’ हल्लाएका थिए । बथनाहबाट १५ मिनेटमै बुधनगरस्थित एकीकृत जाँच चौकीको रेल यार्डमा पहिलो कार्गो रेल आइपुगेको थियो ।

पारवहन सन्धिको प्रोटोकल अनुसार नेपालले रेलमार्फत् कोइला, क्लिङ्कर, सिमेन्ट र रासायनिक मल गरी चारवटा ‘बल्क कार्गो’ मात्रै भारतबाट ल्याउन पाउने व्यवस्था थियो । प्रोटोकल संशोधन गरी बल्क कार्गोको परिभाषालाई व्यापकता प्रदान गरेको जनाइएको छ । 

प्रोटोकल संशोधनमार्फत कन्टेनर कार्गोसहित सबै प्रकारका सामान रेलमार्गबाट ल्याउन सकिने व्यवस्था भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले जानकारी दिए । यसले निजी क्षेत्रलाई ठूलो राहत प्रदान गर्ने भन्दै उद्योगी व्यवसायी पनि उत्साहित बनेको बताए ।

पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने सहमति विगतकै सरकारको पालामा भएपनि औपचारिक पत्रहरूको आदान–प्रदान भने भर्खरै सम्पन्न भएको जनाइएको छ । 

विशाखापटनममा हुने सम्मेलनमा सहभागी हुन पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नयाँ दिल्लीमा भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग भेट गरेपछि दुवै देशका अधिकारीहरूले प्रोटोकल संशोधनसँग सम्बन्धित पत्रहरू आदान–प्रदान गरेका हुन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन सारडाले प्रोटोकल संशोधन भएका कारण अब नेपाली व्यवसायीले सवै प्रकारका कार्गो विराटनगर भन्सार यार्डमा ल्याउन सहज बनेको बताए । तर, त्यसका लागि नेपाली पक्षबाट अझै धेरै काम गर्न भने बाँकी रहेको उनले दाबी गरे ।

‘केही समस्या नेपाल पाटोमा देखिएको छ, रेलवेको यार्ड पूरा भएको छ तर उक्त रेल कटहरीसम्म आउनुपर्नेमा अझैपनि समस्या छ, काम पूरा भएको छैन’ सारडाले भने, ‘अहिलेसम्म नेपालतिर भएको कामको प्रगति पनि सरोकारवालाहरूबीच जानकारी गराइएको छैन, जे भएपनि अब सवै मालबस्तु ल्याउन बाटो चैं अवश्य खुलेको छ, खुला सीमाका कारण हुने गरेको मालबस्तुको चोरीपैठारी र कन्टेनरबाट आयात गर्दा हुने लिकेज र ड्यामरेज पनि हट्ने छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले प्रोटोकल संशोधनले कोलकाता र विशाखापटनम बन्दरगाहमार्फत् हुने कार्गो ढुवानीको क्षेत्रलाई धेरै फराकिलो बनाएको बताए । उनले अहिले दुवै पक्षबीचको पत्र आदान–प्रदानले बल्क कार्गोको दायरा बढेर रेलमार्फत कन्टेनरबाट धेरै प्रकारका सामान ल्याउन सकिने व्यवस्था भएको जानकारी दिए । कार्गो रेल सेवा सञ्चालनको प्रक्रियालाई अघि बढाउन अब सरकारलाई समेत सहज भएको उनको भनाइ छ ।

अब सरकारले नेपाल तर्फको यार्डमा लोड र अनलोडको समस्या समाधान गर्नसके उद्योगी व्यवसायीहरूले सहजै बन्दरगाहबाट विराटनगरको कस्टम यार्डमा मालबस्तु ल्याउन सकिने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी बताउँछन् । 

उनले उद्योगी व्यवसायीहरूले पहिलेदेखि नै लोड अनलोड र ह्याण्डलिङ चार्जको दररेट मिलाउन सरकारलाई आग्रह गरिरहेको जानकारी दिए ।

‘रेलबाट कार्गो ल्याउन नयाँ निर्णयले बाटो खोलेको छ, तर हामीले पहिलेदेखि नै सरकारलाई भन्दै आएको लोड अनलोड र ह्याण्डलिङ चार्जलाई सहजीकरण गर्न सरकारले सहज गरिदिनु पर्छ’ राठीले भने, ‘यो विषयमा पहिले पनि छलफल भएको थियो, हामीले चार्जलाई सहुलियत बनाउन आग्रह गरिसकेका छौं, त्यस्तो चार्ज बढी भएको खण्डमा हामीले वीरगञ्ज भन्सारसँग पनि प्रतिस्पर्धा गर्न पाएको छैन ।’

उनले लोड अनलोड र ह्याण्डलिङ चार्जलाई सहज बनाएको खण्डमा मात्रै रेलबाट हुने आयातमा फाइदा हुने र भन्सारबाट भइरहेको चोरी पैठारी पनि रोकिने दाबी गरे । 

सरकारी अधिकारीहरूले नयाँ व्यवस्थाले विराटनगरको भन्सारस्थित रेल यार्डमा कार्गो रेल सञ्चालन हुने बताएका छन् । उनीहरूले सवै प्रकारका कार्गोलाई रेलमार्गमा आउने र आईसीपीलाई पूर्ण रुपमा सञ्चालन गर्न सकिने बताए ।

यसअघि भारतको वाणिज्य मन्त्रालयले समेत पारवहन सन्धिको प्रोटोकल संशोधनमा जोड दिएको जनाइएको छ । अहिले प्रोटोकल संशोधनपछि जोगबनी–विराटनगरबीच भारतीय बन्दरगाहबाट आउने कन्टेनर र बल्क कार्गो सोझै विराटनगरस्थित भन्सार यार्डको रेलमार्गमै प्रवेश गर्न सहज हुनेछ ।

View : 258

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved