Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कटहरी खण्डको हुलाकी मार्ग निर्माणमा ढिलाई भएको भन्दै सडक बन्द गर्ने चेतावनी

उद्घोष सम्वाददाता
७ चैत २०८०, बुधवार

प्रजिअ भट्टराईलाई ज्ञापनपत्र बुझाउदै नेपाली कांग्रेसका प्रतिनिधि । तस्वीर: कमल/उद्घोष

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी खण्डमा सडक निर्माणमा ढिलासुस्ती भएको र त्यसले दुर्घटना बढेको जनाउँदै नेपाली कांग्रेसले सडक बन्द गर्ने चेतावनी दिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस कटहरीले यही चैत १५ गतेसम्ममा द्रुतगतिमा सडक निर्माण कार्य नथालिए हुलाकी राजमार्गमा ढाट लगाएर आवागमन अवरुद्ध गर्ने चेतावनी दिएको हो । कटहरी कांग्रेसका सभापति रामकुमार कामतले सडकमा भएको खल्डाखुल्डीका कारण दुर्घटना भएर कयौंको ज्यान गइसकेको बताए ।

सडकको खाल्डो सम्याउनु पर्ने, सडक धुलाम्मे हुने भएकाले दैनिक पानी पटाउनु पर्ने र निर्माण कार्य तीब्र गतिमा गर्नु पर्ने ज्ञापनपत्रमा जनाइएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले जनताका जायज माग भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराइने बताए । ती मागहरुको सम्बोधन नभए १५ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने कामतको भनाई छ ।

उनका अनुसार गत साउनमा कटहरी हुलाकी मार्ग संघर्ष समिति र जिल्ला प्रशासन कार्यालय बीच सम्झौता भएअनुसार काममा कुनै पनि प्रगति भएको छैन । त्यसबेला हुलाकी मार्ग संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय अगाडि केही दिन धर्ना दिएको थियो । प्रशासनले समयमै सडक निर्माण गर्न सरकार मार्फत ठेकेदारलाई दवाब दिने आश्वासन दिएपछि आन्दोलन रोकिएको थियो ।

त्यसअघि मोरङमा रहेका प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र पालिका प्रमुखहरुले भेला गरेर सडक निर्माण तत्काल गर्न सरकारलाई दवाब दिएका थिए । नेपाल सरकारबाट सडक निर्माणको ठेक्का पाएको श्रेष्ठ कन्स्ट्रक्सनले पेटीका रुपमा अन्य ठेकेदारहरुलाई निर्माणको जिम्मा दिएको छ । पेटी ठेकेदारहरुले पनि गरेको कामको पारिश्रमिक नपाएकाले निर्माण कार्य रोकेका छन् ।

सडकको किनार खनेर छाडिएकाले कटहरी खण्डमा दैनिक रुपमा सवारी दुर्घटना हुने गरेको छ । दुबै किनारमा नालाका लागि पर्खाल लगाइएपनि कतिपय ठाउँमा सडकतर्फ माटो भरिएको छैन ।

ठाउँ ठाउँमा भएका खाडलमा सवारी साधनहरु पल्टिने र यात्री किचिने घटना हुँदै आएको कटहरी–२ का कांग्रेस सभापति सञ्जय मण्डलले बताए । धुलो उडेर सडक भन्दा ५ सय मिटर भित्रका घरहरुमा पनि असर गर्दै आएको छ ।

View : 283

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved