विराटनगर । सुनसरी–मोरङको औद्योगिक कोरिडरमा रहेका उद्योगहरू विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण गर्ने आकर्षक स्थल बन्न थालेका छन् ।
विद्यार्थी उद्योगहरूमा पुगेर आफूले खाने तथा प्रयोग गर्ने वस्तुको बारे जिज्ञासा राख्ने गरेका छन् ।
हालै मोरङ सुन्दरहरैंचास्थित हरैंचा मोडेल सेकेन्डरी इङलिस स्कुलका विद्यार्थीहरूले सुनसरी सोनापुरस्थित एसियन थाई फुड्सको भ्रमण गरेका छन् ।
एसियन थाई फुड्स तयारी खाजा रमपम, टुपिएमलगायत चाउचाउ उत्पादन गर्ने कम्पनी हो ।
उद्योग भ्रमणका क्रममा विद्यार्थीहरूले उत्पादन प्रक्रियाका बारेमा विशेष चासो राखेको उक्त उद्योगले जनाएको छ ।
खाद्य उद्योगको आधुनिक उत्पादन प्रक्रिया, निर्यातस्तरको गुणस्तर मापदण्ड र विशेष गरी नेपालमै रोजगारीको सम्भावनाको बारेमा प्रत्यक्ष जानकारी दिने गरी शैक्षिक भ्रमणको व्यवस्था उद्योग आफैले सुरु गरेको हो ।
उद्योगका निर्देशक महेश जाजूले यस प्रकारको कार्यक्रम अत्यन्तै सान्दर्भिक भएकाले शैक्षिक भ्रमणमा आउने विद्यार्थीलाई उद्योगको ढोका सधैँ खुला हुने बताए ।
उद्योगका अर्का निर्देशक आनन्द जाजूले शैक्षिक भ्रमणका कार्यक्रमले शिक्षा–उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरूलाई उद्योगका खाद्य विशेषज्ञ तथा उत्पादन प्रमुख समीर शाहले चाउचाउ उत्पादनको प्रक्रिया, स्वच्छता तथा भण्डारणलगायतका बारे जानकारी दिएका थिए ।
उनले आईएसओ प्रमाणित प्रणालीका बारे जानकारी दिदै उद्योगबाट उत्पादित नुडल्स तथा स्न्याक्स विश्वका ३२ बटा भन्दा बढी देशमा निर्यात हुने बताए ।
उद्योगका बजार प्रमुख पवन शाहले भ्रमणमा आएका विद्यार्थी तथा शिक्षकहरूको टोलीलाई स्वागत गर्दै उद्योगका विभिन्न पक्षमा विस्तृत जानकारी गराएका थिए । उनले नेपालमा युवा पलायनको समस्यालाई सम्बोधन गर्दै उद्योगबाट प्रत्यक्ष १५०० र अप्रत्यक्ष रूपमा दशौं हजार युवालाई रोजगार दिइएको उल्लेख गरे ।
साथै उनले प्राविधिक र मार्केटिङ क्षेत्रमा उच्चस्तरीय अवसरहरू नेपालमै उपलब्ध रहेको र अध्ययनपछि विदेशभन्दा राम्रो सेवा–सुविधा स्वदेशमै पाउने सकिने विषय पनि विद्यार्थीलाई जानकारी गराएका थिए ।
विद्यालयका प्रतिनिधि शिक्षक भोला खतिवडाले भ्रमणले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा नभएको व्यवहारिक ज्ञान दिलाएको, उनीहरूको जिज्ञासाहरूको सम्बोधन भएको र भावी करियरको सम्भावना बुझ्न सहयोग पुगेको बताए ।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूलाई वेदान्त जाजू र अनिष जाजूको सक्रिय सहभागितामा मायाको चिनो वितरण गरिएको उद्योगले जनाएको छ ।
View : 197
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved