Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

भव्य बन्यो घर निर्माण प्रदर्शनी

घर निर्माण क्षेत्रको ‘इकोसिस्टम’ एउटै छानामुनि’

उद्‌घोष संवाददाता
१६ चैत २०८२, सोमवार

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको पाँचदिने ‘घर निर्माण प्रदर्शनी’ भव्यतापूर्वक सम्पन्न भएको छ । 

संगठनले घर निर्माणतर्फका अनेकौं निर्माण सामग्री उत्पादकहरूको वस्तुगत क्षेत्रलाई एउटै छानामुनि ल्याएर आयोजना गरेको यो प्रदर्शनी सफल भएको दाबी गरेको छ ।

समापन कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिदुरकुमार लिङथेपले अहिले हरेक व्यक्तिको आफ्नो घर निर्माण गर्ने सपना हुने भन्दै त्यसका लागि लागत, समय र प्रविधिमैत्री घर निर्माणसम्बन्धि बृहत जानकारी यो प्रदर्शनीले दिन सकेको बताए । 

संगठनले रचनात्मक रुपमा प्रदर्शनी आयोजना गरेको महसुस आफूलाई भएको उनले बताए ।

उद्योगी व्यवसायीले अनेकौं बाधा व्यवधान भोग्नुपरेको गुनासो आउने गरेको भन्दै प्रदेशको क्षेत्राधिकारभित्रका विषयलाई आफूले पनि सहजीकरण गर्ने बताए ।

अर्थतन्त्रका लागि पूँजीगत खर्च बृद्धि हुनु आवश्यक रहेको बिषयमा आफू सहमत रहेको पनि मन्त्री लिङ्थेपले बताए । तर जेनजी आन्दोलन, लगत्तैको निर्वाचन र अहिले मध्यपूर्वको युद्धको प्रभाव समेत प्रदेशको खर्च क्षमतामा असर गरिरहेको प्रष्टिकरण दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले संगठनले उत्कृष्ट योजनाका साथ प्रदर्शनी सम्पन्न गरेको बताए । उनले उत्कृष्ट कामकै कारण विगतमा उत्कृष्ट चेम्बरका रुपमा पुरस्कृत भएको बताए ।

प्रदर्शनीमा अधिकतम् वस्तु तथा सेवा क्षेत्र स्वदेशी भएकोले आयातित वस्तुसँग प्रतिष्पर्धा बढाउने विश्वास व्यक्त गरे । 

अध्यक्ष राउतले सरकारले पूँजीगत खर्च बढाउनु पर्ने र स्वदेशी र विदेशी वस्तुबीच भन्सार दर दुई तिहाईले फरक हुनुपर्ने धारणा राखे । 

संगठनका अध्यक्ष नन्दकिशोर राठीले कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको घर निर्माण प्रदर्शनीले घर निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण ‘इकोसिस्टम’ लाई एउटै छानामुनि ल्याउन सफल भएको दाबी गरे । 

उनले विभिन्न सरोकारवाला निकायसँगको अन्तरक्रिया र सहकार्यबाट क्षेत्रविशेष प्रदर्शनीको आवश्यकता महसुस भएपछि सोही अवधारणाअनुसार यो कार्यक्रम आयोजना गरिएको र सफल बनाउन सकेको बताए ।

प्रदर्शनीले निर्माण क्षेत्रका नेपाली उत्पादन तथा सेवाको प्रवद्र्धन, नवप्रवर्तनलाई प्रोत्साहन तथा समग्र निर्माण प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले जानकारी दिए । 

साथै, निर्माण क्षेत्रको बजार विस्तारमा प्रदर्शनीले टेवा पु¥याएको बताउँदै आगामी दिनमा यस्ता क्षेत्रकेन्द्रित प्रदर्शनीहरू आयोजना गर्न अझै प्रेरणा मिलेको बताए ।

प्रदर्शनीमा घर निर्माणसँग सम्बन्धि विभिन्न वस्तु तथा सेवाका ८० वटा स्टलहरू राखिएका थिए । त्यस्तै, यसै क्षेत्रका विभिन्न विषयसँग सम्बन्धित १२ वटा विषयमा विज्ञहरूको उपस्थितिमा थेमिटिक शेसनहरू सञ्चालन गरिएका थिए । 

ती शेशनमा घर निर्माणका लागि आवश्यक जग निर्माणदेखि अन्तिम फिनिसिङ तथा आधुनिक इन्टेरियर डिजाइन र वास्तुसम्मका सेवा र सामग्रीबारे अवलोकनकर्ताहरूलाई जानकारी गराइएको थियो ।

‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनीले सुरक्षित, दिगो र आधुनिक घर निर्माणका व्यावहारिक उपायहरू प्रस्तुत गरेको प्रदर्शनीका संयोजक एवं संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले बताए ।

उत्कृष्ट पाँच स्टललाई अवार्ड

यसैबीच घर निर्माण प्रदर्शनीमा सहभागी भएका विभिन्न स्टलहरू मध्ये पाँचवटा स्टलहरूलाई विभिन्न क्षेत्रगत रुपमा उत्कृष्टताको अवार्ड प्रदान गरिएको छ । 

स्टल तथा कम्पनीहरूले नवप्रवर्तन, प्रस्तुति र दर्शकसँगको सम्बन्ध स्थापना गरेको आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो ।

उदाउँदो तथा सम्भावनायुक्त स्टार्टअपतर्फको अवार्ड हनुमन्ता रग्स प्रालिले हात पारेको छ । यसले नयाँ व्यवसायमा देखिएको सम्भावना र भविष्यको क्षमता मूल्याङ्कन गरेको जनाइएको छ ।

उत्कृष्ट स्टल डिजाइन, लेआउट तथा दृश्य आकर्षणको अवार्ड मार्भेल्स टेक्नोप्लाष्ट प्रालिले प्राप्त गरेको छ । 

नवीन तथा अन्तरक्रियात्मक उत्पादन अवार्ड विनडोर सोलुसन्स, दर्शकसँग उत्कृष्ट अन्तरक्रिया र संलग्नता अवार्ड सिटी मार्बल्स र दिगो अभ्यास तथा स्थानीय स्रोतको उपयोगिता अवार्ड बेम्बो आर्किटेक्चरल एण्ड एलाइड सोलुसन्स प्रालिले प्राप्त गरेका छन् ।

View : 282

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved