Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

उर्लाबारी आगलागी : घाइतेको निःशुल्क उपचार गर्ने आश्वासन

उद्‌घोष सम्वाददाता
३ मंसिर २०८०, आइतवार

विराटनगर : कोशी प्रदेश सरकारले उर्लाबारी नगरपालिका–७ बरगाछी चोकमा कात्तिक २६ गते राती भएको आगलागी नियन्क्रणका त्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्थाको  पहल भइरहेको जनाएको छ । शनिबार कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर मुख्यमन्त्री केदार कार्कीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

मुख्यमन्त्री कार्कीले घाइतेहरूका आफन्तलाई सान्त्वना दिंदै उपचार खर्च सरकारले ब्यहोर्ने आश्वासन दिएका हुन्  । ‘कीर्तिपुर लगिएका घाइतेको उपचारको सबै प्रबन्ध संघीय सरकारबाट गरिने भएको छ’ मुख्यमन्त्री कार्कीले भने, ‘म आफैले संघीय स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग भेटघाट गरी उपचार प्रबन्धको जिम्मेवारी लिन आग्रह गरें, उहाँले सरकारले गर्ने भन्ने प्रतिवद्धता जनाउनुभयो ।’ 

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पनि घाइते सबैको  निःशुल्क उपचारका लागि आफूले पहल गरिरहेको बताएका छन् ।

विराटनगर र विर्तामोडबाट थप उपचारका लागि बर्न अस्पताल लगिएका २५ जना मध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनीहरू सबै विर्तामोडस्थित बिएण्डसी अस्पतालबाट रेफर गरिएका घाइते हुन् । 
मुख्यमन्त्री कार्कीले गम्भीर घाइतेहरूमध्ये तीन जनाको शल्यक्रिया भएको र अरुको थप उपचार भइरहेको जानकारी दिए । उनले भने, ‘थप उपचारका लागि अमेरिकाबाट केही चिकित्सक आउँदै हुनुहुन्छ ।’

स्थानीय दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्सबाट फैलिएको आगो नियन्क्रण लिने त्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका चार जना प्रहरीसहित २८ जना घाइते भएका थिए ।

बन्द रहेको सटर खोल्ने क्रममा सुन पसलमा रहेको ग्यास बिस्फोट हुँदा अचानक फैलिएको आगोको लप्कोले जलेर उनीहरू घाइते भएको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले जानकारी दिए । घाइतेहरूलाई नेपाली सेनाको जहाजबाट दुई चरणमा काठमाडौं पुर्‍याएर बर्न अस्पतालमा उपचार जारी छ । गम्भीर अवस्थामा घाइतेहरूलाई आइसीयूमा राखेर उपचार भइरहेको जनाइएको छ । गम्भीर घाइते भएकाहरूको शरीरको ६५ प्रतिशतसम्म भागमा जलन भएको छ ।

घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हबल्दार मनबहादुर घिसिङ, प्रहरी जवान दिलकुमार आचार्य र ऋदिकिरण राई छन् । 

उर्लाबारी–७ मा आगलागी भएका कारण घाइते भएका अधिकांश सोही वडाका बासिन्दा रहेका छन् । मंगलबार दोस्रो चरणमा काठमाडौं पुर्‍याइएका घाइतेहरू सुजन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौला उर्लाबारी–७ कै स्थानीय हुन् ।

विराटनगरस्थित अस्पतालहरूबाट थप उपचारका लागि काठमाडौं लगिएकाहरूमा कुमार तामाङ, सलिम मन्सुरी, दिनेश शर्मा, शिवकुमार बिक, दिपेन्द्र कार्की, रामेश्वर मरिच, विशाल बस्नेत, कौशल गुरुङ, नेत्र भण्डारी, तारामणि लिम्बू र राजन लिम्बू छन् । उनीहरूमध्ये तामाङ र पण्डितको अनुहारसहित शरिरको विभिन्न भागमा ६५ प्रतिशत जलन भएको अस्पताल स्रोतले जनाएको छ ।

View : 178

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved