विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।
युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (इस्मो) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो ।
जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त संस्थालाई एकीकृत ओन्कोलोजी र प्यालिएटिभ केयर इस्मो नियुक्त केन्द्रको रूपमा अवार्ड प्रदान गरिएको हो ।
क्यान्सर इन्स्टिच्युटले सन् २०२६ देखि २०२८ सम्मका लागि इस्मो नियुक्त केन्द्रको रूपमा मान्यता प्राप्त गरेको छ ।
इस्मो डिजाइनेटेड सेन्टर कार्यक्रमले विश्वभरका ओन्कोलोजी र प्यालिएटिभ केयर सेवाहरूको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ संचालन गरिँदै आएको छ । यो मान्यता तीन वर्षका लागि अवधिको लागि हुने इस्मोले जनाएको छ ।
यो मान्यताले विराट क्यान्सर इन्स्टिच्युटले विश्व-स्तरीय ओन्कोलोजी सेवा, करुणामय प्यालिएटिभ केयर र बिरामीको मर्यादा प्रति अटल प्रतिबद्धता राखेको प्रमाणित गरेको छ ।
यो नेपालमा बहु-अनुशासनात्मक क्यान्सर र प्यालिएटिभ केयर सेवाहरूलाई अगाडि बढाउने दिशामा ऐतिहासिक र उल्लेखनीय कदम भएको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।
यस प्रतिष्ठित पुरस्कारका लागि गरिएको पहल र अथक परिश्रमको लागि एसोसिएट प्रोफेसर मेडिकल अनकोलोजिस्ट तथा हेमाटोलोजिस्ट डा. सुलभ सापकोटाको भूमिका महत्वपूर्ण रहेको छ । उनको नेतृत्वमा यो उपलब्धि हासिल भएको हो ।
यस महत्वपूर्ण उपलब्धिमा योगदान पुर्याउने सम्पूर्ण ओन्कोलोजी टिमलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
यो मान्यताले नेपाली स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचार र प्यालिएटिभ केयरको गुणस्तर सुधार गर्न तथा अन्तर्राष्ट्रिय मानक अनुरूपको सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
View : 287
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved