Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कैद भुक्तानको अन्तिम दिन मोरङ कारागारका एक कैदीको शंकास्पद मृत्यु

उद्घोष सम्वाददाता
९ पुष २०८०, सोमवार

विराटनगर । मोरङ कारागारमा कैद भुक्तानको अन्तिम दिन एक कैदीको मृत्यु भएको छ । विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान ६ः४५ बजे उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।

उनको मृत्युलाई लिएर परिवारका सदस्य र आफन्तजनले आशंका व्यक्त गरेका छन् । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका सहनीलाई पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले कोशी अस्पतालमा भर्ना गरेको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तहरूले उनी बिरामी भएको विषयलाई समयमा समयमा जानकारी नदिएको र उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् । उनीहरूले अस्पताल परिसरमै नाराबाजी गरेका थिए ।

मोरङ अदालतले लेनदेन मुद्दामा २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय तोकेपछि सहनी २०७९ माघ १७ गतेदेखि कारागार चलान भएर कैद भुक्तान गरिरहेका थिए । कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदीबन्दी छन् ।

हाल ९ सय ४८ जना पुरुष, ८९ जना महिला र नाबालक ७ जना गरी १ हजार ४४ जना कैदीबन्दीले कैद भुक्तान गर्दै आएका छन् । मोरङ कारागारमा यसअघि पनि कैद भुक्तान गरिरहेका कैदीबन्दीको मृत्यु हुने गरेको भन्दै परिवारजनले घटना छानबिनको माग गर्दै आएका छन् ।

केही घटनामा छानबिन समिति समेत गठन भएपनि ती समितिमार्फत भइरहेका छानबिन र सुनवाइ हुन सकेको छैन । 

View : 135

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved