विराटनगर । सशस्त्र प्रहरीले विराटनगर–१० तिनटोलियास्थित गुराँसटोलमा हाता पर्खालले घेरेको घरको पछाडि घाँसको झ्यासमा लुकाई राखेको अवस्थामा १२१ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर–१३ सैनिकटोल बस्ने २२ बर्षीय राम अवतार साह, विराटनगर –१६ बर्माटोल बस्ने २३ बर्षीय राजकुमार मण्डल, २० बर्षीय उमेश राजवंशी र बारा कोल्वी नगरपालिका –९ घर भई विराटनगर बस्ने ३६ बर्षीय रविन्द्रप्रसाद चौधरी छन् ।
आइतबार मध्यराति सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटेको टोलीले उक्त घर तथा परिसरमा खानतलासी गर्दा सो परिमाणको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले गाँजासहित उनीहरुले प्रयोग गर्ने सवारी भ्यान र मोटरसाइकल एक–एक वटा, चाँदीको बाला २ थान, विभिन्न मोडलका मोबाइल ५ थानका साथै नेपाली मुद्रा १ लाख ४० हजार ७ सय ७० रुपैयाँ र भारतीय ५ सय रुपैयाँसमेत बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरु, बरामद गाँजा, सवारीसाधनहरु, नगद तथा मोबाइलहरु आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरी बल बराहबाहिनी मुख्यालय पकलीले जनाएको छ ।
यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट करिब ५० किलो गाँजासहित सुनसरी धरान–११ मंगलबारेका १९ वर्षीय प्रज्ज्वल लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को २ ह ४०४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोको इञ्जिनको भागमा लुकाई छिपाई ल्याएको सो गाँजा फेला पारी चालक लिम्बूलाई पक्राउ गरेको हो ।
यस्तै झापाको दमक–९ झर्ना टोलका १९ वर्षीय दिकेश मुण्डालाई खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
View : 136
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved