विराटनगर । बुधबार त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये तीनजना विराटनगरका रहेका छन् ।
दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् ।
मृत्यु भएका कटुवाल विराटनगर–३ स्थित आयल निगम पूर्वका बासिन्दा भएको सौर्य एयरलाइन्स विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेलले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएका को पाइलट कटुवाल पूर्व जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालका एक मात्र छोरा हुन् ।
दुर्घटनामा ज्यान गुमाउने इन्जिनियर निरौला पनि विराटनगरकै बासिन्दा हुन् । उनको घर विराटनगर–१ स्थित भूपालमानसिंह कार्की मार्गमा रहेको जनाइएको छ । तिर्थ निरौला र कल्पना निरौलाका एक मात्र छोरा अश्विन एरोनोटिक इन्जिनियर हुन् ।
इन्जिनियर निरौला सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका भान्जा हुन् । अश्विनको तीन वर्ष अगाडि विवाह भएको थियो ।
मृत्यु भएका सौर्य एयरका सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य पनि विराटनगर–८ मधुमाराका बासिन्दा हुन् ।
आज बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाजका पाइलट ३७ वर्षीय मनिष शाक्यको भने उद्दार गरिएको छ । उनको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको जहाज करिव दुई सय मिटर माथि पुगेपछि कोल्टिएर भुईँमा बजारिएको सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा देखिएको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र धुवाँको मुस्लो देखिएको थियो ।
जहाज अवतरणका क्रममा ठूलो आवाज आएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उड्ने क्रममा धावनमार्गबाट जहाज चिप्लिएको भनिएपनि जहाज आकासमा पुगेपछि पुनः भुईँमा खसेको देखिएको छ ।
View : 8897
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved