Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

खोटाङको दिक्तेलमा बाँस सम्मेलन हुँदै

खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन, २०८१’ हुने भएको छ ।
उद्‌घोष सम्वाददाता
१५ पुष २०८१, सोमवार

सुनसरी । खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन, २०८१’ हुने भएको छ । उक्त सम्मेलनका लागि सातै प्रदेशमा प्रादेशिक तयारी सुरु भएको जनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य आयोजक रहने सम्मेलनमा उठाइने एजेण्डाको सम्बन्धमा आइतबार इटहरीमा कोशी प्रदेश स्तरीय छलफल गरिएको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र ग्रिन ब्याम्बो क्रिएसन प्रालि आयोजक रहेको सम्मेलनका लागि बाससँग सम्बन्धित सरकारी तथा वन वातावरण सम्बन्धी गैरसरकारी संघ संस्था, शैक्षिक तथा अनुसन्धान निकाय, निजी क्षेत्र, बाँसमा आधारित उद्यमी र स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गरिएको हो ।

‘जहाँ बाँस त्यहा जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराको साथ हुने राष्ट्रिय सम्मेलनमा बाससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बासको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बासखेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

सम्मेलनको पूर्व तयारीका लागि आइतबार कोशी प्रदेशको इटहरीमा सम्पन्न भएको छलफल सोमबार मधेश प्रदेशको जनकपुरमा, मंगलबार बागमतीको हेटौंडामा, पुस १८ गते गण्डकीको पोखरामा र पुसको अन्तिम साता उपत्यका काठमाडौमा प्रादेशिक कार्यक्रमहरू गर्ने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र काठमाडौंका महानिर्देशक डा.राजेन्द्र केसीले बताए । बाँसलाई ‘ब्रान्ड’ बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएकाले सम्मेलन उपलब्धिमूलक हुने केसीले विश्वास व्यक्त गरे । 

View : 108

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved