Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सरकारद्वारा नीति कार्यक्रम र बजेटको तयारी सुरु

उद्‌घोष सम्वाददाता
२९ चैत २०८१, शुक्रवार

फाइल फोटो ।

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ गरेको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार प्रदेशका सवै मन्त्रालयका सचिवहरुलाई नीति कार्यक्रमका प्राथमिकता र बजेट निर्माणको कामलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नीति र कार्यक्रम राम्रो र प्रभावकारी हुनुपर्ने बताए । उनले सरकारले ल्याउने नीति कार्यक्रम एकातिर र बजेट अर्कोतिर हुने प्रवृत्तिलाई अन्त्य गर्न निर्देशन दिए । 

उनले भने 'नीति पनि हुन्छ कार्यक्रम पनि हुन्छ तर बजेटको तार्तम्य हुँदैन। यस्तो विषयले राम्रो सन्देश जाँदैन। यो तुरुन्तै रोक्नुपर्छ ।'

मुख्यमन्त्री कार्कीले काम कुरो एकातिर जस्तो भनेझैं पनि हुन नहुने बताए । आफ्नो स्रोत साधन र सामर्थ्यले भ्याएसम्म सुस्पष्ट नीति बनाउन निर्देशन दिए । नीति कार्यक्रम बनाउँदा आवधिक योजनालाई अध्ययन गर्न र त्यसका विषयलाई ध्यान दिन जोड दिए । 

अबको नीति कार्यक्रम सडक बाटो र पुलपुलेसो मात्रै होइन मानवीय सूचाङ्कलाई ध्यान दिएर बनाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै उनले स्वरोजगार उद्दमशीलता लगायतका विषयमा पनि ध्यान दिन निर्देशन दिए ।

'प्रतिनिधि केन्द्रित बजेट होइन अबका नीति कार्यक्रम र बजेट जनतामुखी हुनुपर्छ,' उनले भने, 'जनप्रतिनिधिका घर घडेरी र पहुँचवालाकोमा बाटो र सडक जोडिने खालको विकास हुनुहुँदैन ।'

प्रदेश सरकार स्थापना भएको सात वर्ष पुगिसकेकोले अब प्रदेश सरकारको स्थायी संरचना बनाउने गरी पनि काम थाल्नको लागि मुख्यमन्त्री कार्कीले निर्देशन दिए ।

उनले भने 'प्रदेश संरचना बनेको लामो समय भयो अब यसको स्थायी संरचना बनाउन भौतिक पूर्वाधार मन्त्रालय र सरोकारवाला मन्त्रालयले ध्यान दिएर काम गर्नुपर्छ ।'

रोजगार उद्दमशीलता वृद्धि हुने र पर्यटन प्रवर्धन हुने खालका योजना ल्याएर प्रदेशको आर्थिक स्रोत वृद्धि गर्ने तर्फ पनि नीति कार्यक्रमले जोड दिनुपर्ने बताए ।

नीति र बजेट बनाउँदा संघीय सरकारसँग समन्वय गर्न र स्थानीय तहलाई समेत जोड्ने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले लागत साझेदारीका कामहरूले प्रदेशको आम्दानी बढ्ने र सबैले कामको अपनत्व  लिने भएकाले यस्ता योजनामा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

View : 180

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved