Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विद्युत अनियमितताले उपभोक्ता हैरान

उद्घोष सम्वाददाता
३ असार २०८१, सोमवार

विराटनगर । लामो समयसम्म विद्युत नआउने समस्याले उपभोक्ताहरूलाई हैरान पारेको छ । केही दिन यता चट्याङसँगै पानी पर्न थालेपछि विद्युत आपूर्तिमा अवरोध हुन थालेको हो । टंकी सवस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रमा शनिबारदेखि आइतबारसम्म विद्युत आपूर्ति नहुँदा सो क्षेत्रका ग्राहकहरूले १७ घन्टा भन्दा बढी  अन्धकारमा बस्नु पर्‍यो ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले दिएको सूचना अनुसार ११ के.भी. टंकी फिडर ११ के.भी. कञ्चनबाडी फिडर ११ के.भी.कटहरी, मृकुटी, जामुनगाछी, नहर फिडर र झोराहाट फिडरको लाइन आइतबार काटेर विराटनगरका १,२,३,४,५,६,७, ११ र १२ नम्बर वडाका बासिन्दालाई समस्यामा पारियो । नयाँ प्यानल जडान गर्न र डबल सर्किट निर्माण कार्यको लागि भन्दै एकै पटक लाइन काटियो । अघिल्लै दिनदेखि विद्युत आपूर्ति बन्द भएको ठाउँमा आइतबार पनि लाइन काटेर प्राधिकरणले समस्यामा पारेको हो । 

विराटनगर वितरण केन्द्रका प्रमुख इञ्जिनियर सरोज कुमारले दिएको सूचनामा बैकल्पिक फिडरबाट भए पनि  विद्युत आपूर्ति सुचारू गरिने भनिएको छ तर विराटनगरको १ नम्बर ३ नम्बर आदि वडाहरूमा १७ घन्टा बढी समयसम्म विद्युत आपूर्ति अबरूद्ध रह्यो । उनका अनुसार सोमबारबाट विद्युत आपूर्ति सहज हुने अवस्था छ ।

तीन दिनअघि आएको पानीसँगै परेको चट्याङले ‘लाइटिङ एरेस्टोर’ र इन्सुलेटरहरू फुटेकाले सो दिन लामो समयसम्म विराटनगरको विद्युत आपूर्ति अस्तव्यस्त भयो । सो सँगै टंकी सवस्टेशनमा समस्या आएर पनि विद्युत आपूर्ति अवरूद्ध हुन पुगेको विद्युत प्राधिकरणको भनाइ छ ।

हेटौंडा–ढल्केबर–इनरूवा चार सय के.भी.प्रसारण लाइनको काम सम्पन्न भैसकेकाले यस क्षेत्रको विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिरहेको बेलामा विद्युतमा थप समस्या देखिएको हो ।

विद्युतको अभाव यति बेला छैन । विद्युत आपूर्तिमै समस्या देखिएको हो । विद्युतको बढ्दो माग अनुसार विद्युत प्राधिकरणले वितरण प्रणालीमा सुधार ल्याउन सकेको छैन । उपभोक्ताको बढ्दो मागलाई पुरानै संरचनाबाट धान्नु परेकाले बढी समस्या आएको हो ।

केही समय अघि अत्यधिक गर्मी बढेको बेलामा पनि बारम्बार विद्युत कटौति भएर उपभोक्ताहरूले दुःख पाए । नेपाल विद्युत प्राधिकरणले माग अनुसार विद्युत दिन सकिरहेको थिएन । हेटौंडा–ढल्केबर–इनरूवा चार सय के.भी. प्रसारण लाइनको विद्युत पनि माग बढी भएको बेलामा लिन सक्ने भएको छ । स्थानीय वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्दा समस्या आएको हो ।

विद्युत प्राधिकरणले भारतसँगै बगलादेशलाई पनि विद्युत बेच्ने भएको छ । ४० मेगावाट विद्युत प्राधिकरणले बंगलादेशलाई  दिंदैछ । आफ्नै देशमा भने विद्युत आपूर्तिलाई व्यवस्थित र नियमित गर्न सकिरहेको छैन । यसबाट सर्वसाधारण ग्राहक र उद्योगी व्यवसायीहरू समेत पीडित छन् ।

View : 112

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved