विराटनगर, ६ मंसिर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पार्टीका दुई महामन्त्रीहरूप्रति आक्रोस पोखेका छन् । उनले आफू नेतृत्वको कोशी प्रदेश सरकार विद्रोहबाट नभई संविधानको सदुपयोगबाट बनेको दाबी गरे ।
बुधबार विराटचोकमा आयोजित नेपाली कांग्रेस मोरङको फ्रथम जिल्ला सम्मेलनका क्रममा बोल्दै मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले जनअधिकारको रक्षा, सुशासन र सम्मृद्धिलाई ध्यान दिएर अघि बढ्ने धारणा व्यत्त गरे ।
सरकार गठनको विषयलाई लिएर पार्टीभित्रको एउटा तप्काले निरासै निरासा भयो भन्ने गरेको र अर्कोतिर उटपट्याङको भिडले कांग्रेसलाई नै बन्धक बनाउन खोजेको मुख्यमन्त्री कार्कीले आरोप लगाए ।
‘उट्पट्याङको भिडले कांग्रेसलाई नै बन्धक बनाउन खोजेको छ, कोही मञ्चको अगाडि आएर विरोध गरेर ताली खानेहरू छन्, कोही ताली खान पाइन भनेर बुरुक बुरुक गर्नेहरू पनि छन्, यी दुईटैबाट कांग्रेस बचाउनुछ’ कार्कीले भने, ‘कांग्रेसमा केही युवा भन्नेहरू, मञ्चमा गएपछि तीन घण्टा भाषण गर्नेहरू, फेसबुक भेटेपछि कविता र कथा लेख्नेहरूले संविधान पढेनन्, संविधान पनि नपढ्ने र पार्टीको दस्तावेज नपढ्नेहरूले पार्टीका साथीहरूलाई भ्रमित गर्न खोजे ।’
उनले वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको स्मरण गराउँदै विद्रोह गरेको सरकार नभई संविधानको धाराको सदुपयोग गरेको सरकार भएको बताए ।
मुख्यमन्त्री कार्कीले माओवादीका नेता प्रचण्डले ओलीकहाँ गएर प्रधानमन्त्री बन्दा उनलाई स–सम्मान विश्वासको मत दिने नेपाली कांग्रेसले कोशी प्रदेशमा एमालेसँग सहमति गरेर आफू मुख्यमन्त्री बन्दा घृणाको बमन गरेको आरोप लगाए ।
‘रामचन्द्र पौडेल संसदीय दलको नेता हुँदा बहुमतीयमा रामचन्द्र पौडेल र सहमतीयमा शेरबहादुर देउवा भनेर निर्णय गर्ने तपाईहरू होइन ? तपाईहरूको हात कहाँ थियो, आँखा थियो कि थिएन ?’ आक्रोसित बनेका कार्कीले भने, ‘डा.शेखर कोइराला र मिनेन्द्र रिजालले नेपाली कांग्रेसको नेतृत्वमा सरकार ल्याउन भूमिका खेल्नुभयो, तर प्रचण्ड ओलीकोमा गएर प्रधानमन्त्री बन्दा स–सम्मान विश्वासको मत दिने नेपाली कांग्रेसले एमालेसँग सहमति गरेर मुख्यमन्त्री बन्दा घृणा गर्ने ?, लेख्ने ? बमन गर्ने ? वाकवाकी लाग्ने ?’
मुख्यमन्त्री कार्कीले वर्तमान सरकार टेष्टट्यूव बेबी सरकार भएको बताए । उनले आफू नेतृत्वको सरकारको आमाबाउ पनि कांग्रेस नै भएकोले कसैसँग सम्झौता गरेर काम गर्नु नपर्ने दाबी गरे ।
‘यो टेष्टट्यूब बेबी सरकार पनि हो, टेष्टट्यूब बेबी भनेको विद्रोह गरेरै आउँछ, त्यसरी आएको सरकार नेचुरल पनि हुन्छ’ उनले भने, ‘यो सरकार चलाउन कसैसँग सम्झौता गर्नु पर्दैन, कसैको आदेश मान्नु पर्दैन, जनताको सुशासनसँगको आशालाई केन्द्रमा राखेर सरकार चलाउनलाई सम्झौता गर्नु पर्दैन ।’
आफूले कहिले पनि विकास र सम्मृद्धि, जनअपेक्षा पूरा गर्न र सुशासनसँग सम्झौता नगर्ने बताए । त्यस्तो सम्झौता कुनै पार्टीसँग पनि नगर्ने दाबी गरे । वर्तमान सरकारले कांग्रेसको छाती चौडा गर्ने गरी काम गर्ने बताए ।
उनले कांग्रेसकै नेताहरूले संघीयताको कार्यान्वयनको काम छाडेर प्रदेश नै खारेज गरौं भन्दै हिंड्ने गरेको गुनासो गरे । प्रदेशमा प्रदेश प्रहरी हस्तान्तरणमा भूमिका खेल्न उनले आग्रह गरे ।
‘प्रदेश खारेज गरौं भन्दै हिंड्ने हो भने दुर्गा प्रसाईको पार्टीमा ज्वाइन गर्नुस् न, ताली नै ताली खानुहुन्छ’ उनको भनाइ थियो, ‘सिंहदरबार गाउँमा पुर्याउछु भनेर संविधानले दिएको प्रदेशको अधिकार कार्यान्वयन नगर्ने ? आफू मन्त्री खानमात्रै दौडिने अनि प्रदेश काम लाग्दैन भनेर कार्यकर्तालाई गाली गर्दै नेताको पगरी लगाउने काम बन्द गर्नुस् ।’
View : 184
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved