विराटनगर । नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूले असार १७ मा सात बुँदे सहमति गर्दै थालेको सत्ता सहयात्रा कोशी प्रदेशमा पनि कार्यान्वयन हुने चरणमा आइपुगेको छ । दुई दलले शनिबार सरकारबारेको भागबन्डा टुंगो लगाएसँगै कोशीमा पनि नयाँ गठबन्धन कार्यान्वयन हुने निश्चित भएको हो ।
दुवै दलका प्रदेशस्थित नेताहरूको शनिबार काठमाडौंमा सम्पन्न बैठकले मन्त्रालय भागबन्डाको विषय टुंगो लगाएको हो । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाबीचको बैठकले मुख्यमन्त्रीमा आलोपालोसहित प्रदेशमा चार–चार वटा मन्त्रालय लिने गरी सहमति गरेको बैठकमा सहभागी कांग्रेस नेताहरूले बताएका छन् ।
यी दुई दलका नेताहरूले मुख्यमन्त्री पदमा दुवै दलले आलोपालो गर्ने र त्यसको समयको निर्धारण केन्द्रीय गठबन्धनअनुसार गर्ने सहमति भएको छ ।
‘केन्द्रमा प्रधानमन्त्री फेरिएपछि प्रदेशमा पनि मुख्यमन्त्री फेरिने सहमति भएको छ’, प्रदेशसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य भीम पराजुलीले भने ‘मन्त्रालयका हकमा अहिले माओवादी मन्त्रीहरूले सम्हालेको मन्त्रालय कांग्रेसले लिने र थप एउटा मन्त्रालय पनि लिने सहमति भएको छ ।’
कोशीमा अहिले एमालेका कार्की मुख्यमन्त्री छन् भने संघमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । सहमति अनुसार अब केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिनेछ ।
सात बुँदे सहमतिअनुसार ओली २०८३ असार ३० सम्म प्रधानमन्त्री रहने छन् भने त्यसपछि निर्वाचनसम्मै देउवा प्रधानमन्त्री हुने छन् । एमाले नेताहरूले भने मुख्यमन्त्रीको आलोपालोबारे केन्द्रीय गठबन्धनले टुंग्याउने र प्रदेशका नेताहरूले मन्त्रालय मात्र भागबण्डा गरेको बताएका छन् ।
‘प्रदेशको मुख्यमन्त्रीका हकमा पनि सोहीअनुसार आलोपालो गर्ने सहमति भएको छ’, शनिबारको बैठकमा सहभागी कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले भने ‘सोमबार कोशी प्रदेश कार्यसमितिको बैठक बसेर सहमति अनुमोदन गर्ने र मन्त्रीहरूको नाम सिफारिश गर्ने योजना छ ।’
उनका अनुसार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने निश्चित भएको छ । यी तीन वटै मन्क्रालय यसअघि माओवादीसँग थियो ।
शुक्रबार मात्रै माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै सरकार छाडेका थिए । माओवादीका मन्त्रीहरू गणेश उप्रेती भौतिक पूर्वाधार, नारायण बुर्जा मगर वन वातावरण तथा पर्यटन, राजेन्द्र कार्की स्वास्थ्य र बन्दना झागर वन पर्यटन राज्यमन्क्रीले शुत्रबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
शुक्रबार नै उनीहरूको राजीनामा स्वीकृत गरेपछि मुख्यमन्त्री कार्की कांग्रेससँग छलफल गर्न शनिबार काठमाडौं पुगेका थिए । काठमाडौंमा भएको सहमतिअनुसार कांग्रेसले यी तीनबाहेक सामाजिक विकास र कृषि मन्त्रालयमध्ये एउटा लिने सहमति पनि भएको छ ।
‘माओवादी मन्त्रीहरूले छाडेकाबाहेक सामाजिक विकास र कृषिमध्ये एउटा मन्त्रालय लिने सहमति छ’, प्रमुख सचेतक तामाङले भने, ‘पछि मुख्यमन्त्री फेरिएपछि अहिले कांग्रेसले लिएका मन्त्रालय एमालेले लिने सहमति भएको छ ।’
प्रदेशको सामाजिक विकास मन्त्रालयमा अहिले एमालेका पाँचकर्ण राई मन्त्री छन् भने कृषि मन्त्रालय मुख्यमन्त्री आफैले राखेका थिए । अहिलेको सरकारमा एमालेबाट मुख्यमन्त्री कार्कीसहित आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री राम राना, सामाजिक विकासमा पाँचकर्ण राई, आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी र मुख्यमन्त्री कार्यालय हेर्नेगरी राज्यमन्त्री सृजना राई छन् ।
एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डाको टुंगो लागेपछि कांग्रेसभित्र मन्त्री बन्ने दौड झनै बढ्ने निश्चित छ । नेताहरूका अनुसार भागबन्डा टुंगो लागेसँगै अब केन्द्रीय नेतृत्वले मन्त्रीहरूको नाम टुंगो लगाउनेछ ।
केन्द्रीय नेताहरूले नाम दिएपछि सोमबार प्रदेश समितिको बैठक बसेर औपचारिकता प्रदान गर्नेछ । कांग्रेस कोशीमा संस्थापन पक्षका दुई समूह र संस्थापन इतर समूहका गरी तीन समूहका सांसदहरू मन्त्री बन्ने दौडमा सामेल छन् ।
संस्थापन समूहका देउवा निकट सांसदहरू अमृत अर्याल, प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, कृष्णप्रसाद सिटौला पक्षका भीम पराजुली, भूपेन्द्र राई तथा शेखर कोइराला पक्षका शमशेर राई, रामकुमार खत्री, गोविन्द गिरीसहित बहुसंख्यक सांसद मन्त्री हुने दौडमा छन् । ‘अब कांग्रेसले दुई दिनभित्रमा नाम टुंगो लगाउने सम्भावना छ’, सांसद भीम पराजुलीले भने ‘सोमबारसम्ममा टुंगो लाग्नेछ ।’
View : 174
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved