Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

तामाङ संस्कारको चारदाम प्रदर्शन

उद्‌घोष सम्वाददाता
२३ असार २०८१, आइतवार

विराटनगर । तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चारदाम’ शनिबार विराटनगरमा प्रदर्शन गरिएको छ । 

तामाङ जातिको लोप हुन लागेको भाषा लिपी, कला, संस्कार, संस्कृति संरक्षण र प्रबर्द्धनको लागि सो चलचित्र प्रदर्शन कार्यक्रमको आयोजना गरिएको नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरकी अध्यक्ष विष्णुकुमारी  तामाङले बताइन् । 

कोशी भिजन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको सो चलचित्र प्रदर्शनी कार्यक्रममा कलाकारहरूलाई सम्मान र प्रमाणपत्र प्रदान गरिएको थियो । लाखमान योञ्जन तामाङको लेखन तथा निर्देशनमा तयार भएको सो चलचित्रका निर्माता मैना घिसिङ, नायक सुभाष योञ्जन तामाङ, नायिका सुकुमाया मोक्तान  छन् । 

कोशी प्रदेशको भोजपुर, सुनसरी र तेह्रथुमका विभिन्न रमणीय ठाउँहरूमा कतै भाषा, लिपिको कक्षा, कतै समाजका विसंगतिहरूमाथि प्रहार, कतै चारदामको कार्यक्रम, जीवनमा भैपरी आउने व्यवहारिक कठिनाईलगायतका दृश्यहरूको छायाङ्कन सो चलचित्रमा गरिएको छ । 

‘चारदाम’ मा मदन राई, पूर्ण लिम्बू, शान्ति पाख्रिन, डम्बरकुमारी मेन्याङ्बो, मोहन लोप्चन, सुम्निमा योञ्जन, मेनुका राईलगायतका कलाकारहरको अभिनय छ । सो चलचित्र प्रदर्शनीमा नेपाल चलचित्रकर्मी महासंघ कोशीका अध्यक्ष अरूणकुमार प्रधान, तामाङ, घेदुङका कोशीका सदस्य गोविन्द तामाङ, आदिवासी जनजाति महासंघ महानगर समन्वय परिषद् विराटनगरका अध्यक्ष सुरेशसिंह गन्गाई, आदिवासी जनजाति अन्तर्गतका पदाधिकारी, सदस्य र अन्य महानुभावहरूको उपस्थिति थियो ।

हालै विराटनगरमा सम्पन्न क्यानडा–नेपाल पर्वतीय चलचित्र महोत्सवमा लघु चलचित्र विधातर्फ ‘चारदाम’ ले उत्कृष्ट चलचित्रको उपाधि जितेको  छ ।

View : 183

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved