Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

पहिलो ‘कृषि एक्स्पो’ भव्य रुपमा सुरु

मोरङको कटहरी गाउँपालिका–१ स्थित कृषि थोक बजार केन्द्रमा एक्स्पोको भव्य उद्घाटन गरिएको हो । कोशी प्रदेशको कृषि क्षेत्रको सम्भावनालाई अभिवृद्धि गर्दै कृषि क्षेत्रको व्यवसायिकरणमा एक्स्पोले महत्वपूर्ण योगदान गर्ने अपेक्षासहित तीनै तहका सरकार, दातृ निकाय र निजी क्षेत्रको सहकार्यमा एक्स्पो सुरु भएको जनाइएको छ ।
उद्‌घोष सम्वाददाता
२८ भदौ २०८१, शुक्रवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा बिहीबारदेखि कोशी प्रदेशकै पहिलो कृषि एक्स्पो भव्य रुपमा सुरु भएको छ । एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् ।

मोरङको कटहरी गाउँपालिका–१ स्थित कृषि थोक बजार केन्द्रमा एक्स्पोको भव्य उद्घाटन गरिएको हो । कोशी प्रदेशको कृषि क्षेत्रको सम्भावनालाई अभिवृद्धि गर्दै कृषि क्षेत्रको व्यवसायिकरणमा एक्स्पोले महत्वपूर्ण योगदान गर्ने अपेक्षासहित तीनै तहका सरकार, दातृ निकाय र निजी क्षेत्रको सहकार्यमा एक्स्पो सुरु भएको जनाइएको छ ।

एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउन एक्स्पो महत्वपूर्ण अवसर भएको बताएका छन् ।

उनले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य, नीति तथा कार्यक्रम र बजेटले कृषि क्षेत्रको उत्पादन वृद्धि केन्द्रित क्षेत्रलाई प्राथमिकता दिएको बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले समेत कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको भन्दै कृषि क्षेत्रमा निजी क्षेत्रसँग सहकार्यलाई सरकारले प्राथमिकता दिएको बताए ।

प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा समेत कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि र जलस्रोत क्षेत्रका एक सयवटा योजनाहरु समावेश गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । उनले कृषि उत्पादन बढाउन र यान्त्रिकरणका लागि एक्स्पो महत्वपूर्ण अवसर बन्ने विश्वास व्यक्त गरे ।

‘लगानीको सुनिश्चितता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन्, सरकारले कोशी प्रदेशलाई कृषि हबको रुपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ’ मुख्यमन्त्री कार्कीले भने, ‘किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रिकरणमा सहयोग र कृषि उद्योग सञ्चालनमा सहयोग गरिरहेका छौं, यसलाई निरन्तरता दिंदै जानेछौं ।’

संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको व्यावसायीकरणका लागि रणनीतिक लगानी आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रमा सरकारले लगानी बढाउँदै गएको र अझ थप गर्दै जानुपर्ने बताए । उनले निजी क्षेत्रबाट कृषिमा अझ बलियो गरी लगानी हुनुपर्नेमा जोड दिए ।

‘सरकारको तर्फबाट पनि लगानी सहजीकरण गरिदिनुपर्ने आवश्यकता छ, कृषिमा निजी क्षेत्रको लगानी बढ्नुपर्ने पनि आवश्यक छ’ मन्त्री अधिकारीले भने, ‘हुनुपर्ने जति लगानी निजी क्षेत्रबाट भएको छैन, सबैले कृषि दशकलाई सफल पार्न सहयोग गर्नुपर्ने आवश्यक छ ।’

कृषि क्षेत्रमा लगानीको सम्भाव्यतालाई हेरेर मन्त्रालयले सवै प्रदेशलाई पत्र पठाइसकेको मन्त्री अधिकारीले जानकारी दिए । साथै सरकारले दुग्धजन्य पदार्थको विविधिकरण गर्दै जाने र दुग्ध किसानको भुक्तानी बाँकी रकम दशैं अगाडि नै गरिसक्ने गरी अघि बढेको बताए ।

‘दूधको भुक्तानीको समस्या भुक्तानीको चरणमा रहेको छ, दशैं अगाडि नै किसानको हातमा पैसा पर्छ’ मन्त्री अधिकारीले भने, ‘दूधको बक्यौता छिटो समाधान हुनेछ ।’

एक्स्पो आयोजक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले मुलुकको निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरणको माध्यमबाट निर्यातमुखी बनाउन एक्स्पोले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले किसान र उद्यमीलाई एउटै मञ्चमा ल्याएर कोशी प्रदेशको कृषि क्षेत्रको विकासलाई अघि बढाइने बताए । 

उद्घाटनका अवसरमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र हेमराज ढकाल, स्वीस कन्ट्याक्टका टिम लिडर रीमा श्रेष्ठ, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण मोक्तानलगायतले शुभकामना दिएका थिए । 

बिहीबारदेखि भव्य रुपमा सुरु भएको एक्स्पोमा भारतको बिहार सरकारबाट सहभागी भएका २० वटा कृषि स्टलसहित कूल १३० बटा स्टलहरु रहेका छन् । एक्स्पोमा कृषि क्षेत्रका नवप्रवर्द्धनात्मक उद्यम शीप, कृषि औजार र प्रविधि, उन्नत जातका पशुपंछी र कृषि उत्पादनहरु प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएका छन् । जुम्लाको मार्सी चामलदेखि झापाको जैविक मल, साना तथा लघुउद्यमीहरुले उत्पादन गरेका खाद्य वस्तु र फलफूल राखिएका छन् ।

एक्स्पोमा कृषि क्षेत्रको सम्भावना र अहिलेको अवस्थाबारे नेपाल र भारतका एक दर्जन बढी कृषि विज्ञसँग प्यानल छलफल समेत राखिएको जनाइएको छ । 

नेपाल र भारतका १५ जना कृषि विज्ञहरूले कृषि एक्स्पोमा सहभागिता जनाएका छन् । र उनीहरु कृषि उत्पादनका बारेमा किसानसँग संवाद र छलफल गर्नेछन् । नेपाल उद्योग वाणिज्य कोशीले हरेक वर्ष कृषि एक्स्पोलाई निरन्तरता दिने घोषणा गरेको छ ।

एक्स्पोमा मंगलबार साँझ पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमारर नेपालले समेत अवलोकन गरेका थिए ।

View : 88

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved