Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ओलीकै फोटोसँग तर्सिरहेका छन् एमाले उम्मेदवार

उद्‌घोष संवाददाता
७ फागुन २०८२, बिहिवार

विराटनगर । गएको शुक्रबार नेकपा एमाले मोरङ ४ का उम्मेदवार जीवन घिमिरेले ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरे । आफू सांसद भएपछि गर्ने काम समेटिएको घिमिरेको प्रतिबद्धतापत्रमा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर थिएन ।

आइतबार मोरङ ६ का विनोद ढकाल र मोरङ ३ का इरनकुमार राईले पनि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरे । उनीहरू दुवैको प्रतिबद्धता पत्रबाट पनि ओलीको तस्वीर गायब थियो ।

आफ्ना १०२ वर्षका पिताको निधनपछि कोरामै रहँदा प्रतिबद्धतापत्र जारी गरेका ढकाल यसैपनि ओलीविरोधी मानिन्छन् । तर, कुनैबेला ओलीका विरोधी भनेर चिनिएका र पछिल्लो समय प्रखर रुपमा ओलीको पक्षमा उभिएका जीवन घिमिरे मात्रै होइन, सधैं ओलीकै कित्तामा उभिंदै आएका उम्मेदवारहरुले पनि आफ्नो प्रचार सामग्रीमा ओलीको फोटो राखेका छैनन् ।

झापा १ का उम्मेदवार रामचन्द्र उप्रेती सदा ओलीका समर्थक हुन् । उनको चुनावी प्रचार सामग्रीबाट पनि ओलीको तस्वीर गायब छ । झापा २ बाट दोस्रोपल्ट चुनाव लडिरहेका देवराज घिमिरे हुन् वा इलाम १ का काजीमान कागते, तेह्रथुमका भानुभक्त ढकालदेखि सुनसरी ४ का जगदीश कुसियतसम्मको प्रचार सामग्रीबाट ओलीको फोटो गायब बनेको छ ।

केही महिना अघिसम्म ओलीको तस्वीरबिना एमालेको कार्यक्रम कल्पना गर्नै सकिंदैनथ्यो । सभा–समारोहमा ओलीको तस्वीरसहितको  स्ट्यान्डआउट, कटआउट र ब्यानरले कार्यक्रमस्थल ढाकिन्थ्यो । उम्मेदवारको फोटोभन्दा ठूलो ओलीको तस्वीर हुन्थ्यो । यही दृश्य नै एमालेको चुनावी ब्रान्ड थियो । २०७९ सालको निर्वाचनमा त धेरै उम्मेदवारको एउटै माग हुन्थ्यो, अध्यक्षज्यू एकपटक आएर आमसभा गरिदिनु भयो भने जीत पक्का हुन्छ । 

तर, कोशी प्रदेशमा यसपटकको चुनावी दृश्य फरक छ । बहुसंख्यक एमाले उम्मेदवारले प्रचार सामग्रीमा ओलीको फोटो राखेका छैनन् । कतिपयले त सामाजिक सञ्जालको कभरबाट पनि अध्यक्षको फोटो हटाएका छन् । मेरो होइन माटोको बोली, फेरि पनि केपी ओली भन्ने नारा फेसबुकमा हालिरहने उम्मेदवारहरुले मनोनयन दर्तापछि त्यो नारा पनि हटाएका छन् । 

हरेक कार्यक्रममा मदन भण्डारीको भन्दा ठूलो तस्वीर राखिने ओलीको तस्वीर चुनावी प्रचार सामग्रीबाट किन गायब भयो ? झापाका एक जना एमाले उम्मेदवारले भने,– ‘अहिलेको चुनावमा ओलीविरोधी मनोविज्ञान धेरै छ । ओलीको फोटो राख्दा मतदाता झनै भड्किने सम्भावना हुन्छ । भोट घट्ने त्रासले यस्तो भएको होला । चुनावमा उठेका कसलाई हार्न मन हुन्छ र ?’

मोरङका एकजना एमाले उम्मेदवारले बताए अनुसार अध्यक्ष ओली बोलाएर आमसभा गर्न कुनै एमाले उम्मेदवार तयार छैनन् । ओली आएर अहिले भोट बढ्ने होइन, घट्ने खतरा छ उनले भने, फेरि यो पटक उहाँ आफनै क्षेत्रमा व्यस्त हुनुन्छ । त्यसैले उहाँले सम्बोधन गर्ने कार्यक्रम छैन ।

एमाले उम्मेदवार र नेताहरुले भनेजस्तै ‘जेनजी आन्दोलन’ पछि बनेको राजनीतिक मनोविज्ञानका माझ भैरहेको चुनावमा एमाले सबैभन्दा रक्षात्मक बनेर चुनावमा होमिएको छ ।

राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईं भन्छन्, जेनजी आन्दोलनले एमाले नेतृत्व अझ ओलीप्रतिको असन्तोषलाई दृश्यरूपमा बाहिर ल्यायो । ओली रक्षात्मक अवस्थामा  चुनावमा गएका छन् । अहिलेको बेथितिको नेतृत्वकर्ता उनी नै हुन् भन्ने विश्वास स्थापित भएको छ । यसकारण अरुबेला देवता करार गरिएका ओली एमाले उम्मेदवारहरुका लागि अहिले नभए पनि हुने पात्र बनेका छन् । यो अस्वाभाविक थिएन ।

त्यसो त पहिला ओलीको आक्रामक भाषण र कटाक्षले समर्थक उत्साहित हुन्थे । जेनजी  आन्दोलनपछि त्यही शैली ध्रुवीकरण बढाउने कारक बन्न थाल्यो । 

मोरङका एक एमाले कार्यकर्ता सम्झन्छन्, पहिला अध्यक्ष आउँदा माहोल तत्थ्यो । अहिले कतिपय ठाउँमा उहाँको नाम सुन्दा नै  माहोल बिग्रने अवस्था छ ।

आन्दोलनपछि आक्रामक ओली चुनाव लागेपछि सार्वजनिक कार्यक्रममा तुलनात्मक रूपमा संयमित देखिन थालेका छन् । सुनसरीका एक उम्मेदवार भन्छन्, हामी अध्यक्षको सम्मान गर्छौं । तर, अहिले अवस्था त्यस्तै छ । अध्यक्षको फोटो राख्दा समर्थन बढ्छ कि घट्छ भन्ने हिसाब गर्नुपर्ने अवस्था आएको छ । त्यसैले हामी आफ्नै एजेन्डामा केन्द्रित छौं । 

२०७४ को वाम लहरमा ओली राष्ट्रियताको प्रतीक जस्तै थिए । २०७९ सम्म पनि उनको भाषण चुनावी अस्त्र मानिन्थ्यो । तर, जेनजी आन्दोलनपछि उनको व्यक्तित्वको करिश्माभन्दा उनको अनुहार देखाउँदा हुने घाटाको क्याल्कुलेसन हावी भएको देखिन्छ । 

केही समययता विराटनगर र आसपासका क्षेत्रमा हुने गरेका एमाले कार्यक्रममा अध्यक्ष ओलीको ठूलो कटआउट मात्र होइन तस्वीरसमेत गायब छ । 

जेनजी आन्दोलनपछि उत्पन्न असन्तोष र बहसले एमाले नेतृत्वलाई रक्षात्मक बनाउँदा उम्मेदवारहरु आफ्नै अध्यक्षको अनुहारबाट तर्सिन थालेको विश्लेषक प्रसाईंको भनाइ छ ।

View : 211

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved