Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अपांगता भएकालाई चालक अनुपतिपत्र माग

उद्‌घोष संवाददाता
७ पुष २०८२, सोमवार

विराटनगर । अपांगता भएका ब्यक्तिहरुलाई सवारीचालक अनुमतिपत्र प्रदान गर्नु पर्ने बिषयमा सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयनको माग गर्दै राष्ट्रिय अपांग महासंघले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । 

महासंघ अन्तर्गत गठित टोलीको नेतृत्व गर्दै महासंघका कोशी प्रदेश अध्यक्ष नविचन्द्र ढुंगेलले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई सो विषयबारे जानकारी दिंदै ज्ञापनपत्र बुझाएका हुन् । 

टोलीले मन्त्री भण्डारीलाई बुझाएको ज्ञापनपत्रमा राष्ट्रिय बहिरा महासंघले दायर गरेको मुद्दामा सर्वाेच्च अदालतले बहिरा तथा सुस्त श्रवण भएका ब्यक्तिहरुलाई सवारीचालक अनुमतिपत्र दिने ब्यवस्था मिलाउन नेपाल सरकारको नाममा परमादेश दिएको उल्ल्ेख छ । 

२०६९ साल चैत्र ९ गते उक्त परमादेश जारी भएपनि कार्यान्वयन नभएका कारण अपांगता भएका ब्यक्तिले चालक अनुमतिपत्र नपाएको राष्ट्रिय अपांग महासंघले जनाएको छ । 

महासंघका कोशी प्रदेश अध्यक्ष ढुंगेलले परमादेश अनुसार बहिरा तथा सुस्त श्रवण भएका ब्यक्तिहरुले पनि सवारीचालक अनुमतिपत्र पाउनुपर्ने भएपनि  नपाएकाले समस्या झेल्नुपरेको बताए ।

यस्तै सार्वजनिक यातायातमा अपांगता भएका  ब्यक्तिलाई ५० प्रतिशत छुट दिनुपर्ने प्रावधान रहेपनि यातायात ब्यवसायीले त्यो कार्यान्वयन नगरेको महासंघले दाबी गरेको छ । 

अपांगता भएकालाई छुट नदिएपनि ब्यवसायीले भने अपांगता भएकालाई छुट दिएको भन्दै यातायात नविकरणमा सरकारबाट ६० प्रतिशत छुट लिइरहेको महासंघले दाबी गरेको छ । 

महासंघले ब्यवसायीलाई छुट दिंदा उनीहरुले अपांगता भएकाले नियमानुसार पाउने छुट दिए नदिएको यकिन गर्न माग गरेको छ । 

ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले सो बिषयमा यातायात महासंघ र ब्यवसायी तथा यातायात ब्यवस्था कार्यालयका प्रतिनिधि सम्मिलित बैठक डाकेर आवश्यक निर्देशन दिने आश्वासन दिएका छन् ।

View : 219

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved