विराटनगर । समकालीन राजनीति, चुनावी संस्कार र सामाजिक यथार्थलाई केन्द्रमा राखेर लेखिएको साहित्यकार महेन्द्र न्यौपानेको लघुकथा संग्रह ‘चुनावी सेरोफेरो’ माथि विराटनगरमा शनिबार विमर्श गरिएको छ ।
नेपाली लेखक संघ कोशी प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा साहित्य, राजनीति र समाजबीचको अन्तर्सम्बन्धलाई गम्भीर रूपमा केलाउँदै वक्ताहरूले संग्रहलाई वर्तमान चुनावी संस्कृतिको यथार्थ चित्रण गर्ने प्रभावशाली कृति भएको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार तथा पत्रकार गिरिराज आचार्यले नेपाली समाजमा चुनाव केन्द्रित प्रवृत्ति, राजनीतिक स्वार्थ र नागरिक चेतनाको अवस्थालाई लघुकथा मार्फत सशक्त रूपमा उठान गरिएको टिप्पणी गरे ।
उनले साहित्य केवल मनोरञ्जन नभई समाजलाई दिशाबोध गराउने माध्यम भएको उल्लेख गर्दै यस्ता कृतिले लोकतान्त्रिक संस्कृतिको विकृत पक्ष उजागर गर्ने बताए ।
संघका प्रदेश अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संग्रहमाथि समालोचनात्मक टिप्पणी गर्दै साहित्यकार कृष्ण अधिकारीले ‘चुनावी सेरोफेरो’ ले चुनावका बेला देखिने आश्वासन, अवसरवाद, सत्ता–मानसिकता र जनअपेक्षाबीचको द्वन्द्वलाई तीक्ष्ण शैलीमा प्रस्तुत गरेको धारणा राखे ।
उनका अनुसार संग्रहका लघुकथाहरू छोटा भएपनि तिनले बोकेको राजनीतिक सन्देश, व्यङ्ग्य चेतना र सामाजिक यथार्थ गहिरो रहेको छ ।
कार्यक्रममा साहित्यकारहरु कविराज न्यौपाने, विवश पोखरेल, विश्वराज अधिकारी, कृष्ण पोखरेल ,बलराम पोखरेललगायतले संग्रहको संरचना, भाषाशैली, व्यङ्ग्य चेतना र समसामयिक सान्दर्भिकताबारे विश्लेषणात्मक धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लेखक महेन्द्र न्यौपानेले आफूले समाजमा देखिएका राजनीतिक व्यवहार, चुनावी संस्कार र आमनागरिकका अनुभूतिलाई लघुकथामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताए ।
View : 301
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved