विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व निर्देशक गोविन्दप्रसाद दाहालको आइतबार निधन भएको छ । विराटनगर–३ बुद्ध चोक निवासी ६० बर्षीय दाहाललाई पछिल्लो समय क्यान्सर भएको पुष्टि भएको थियो । क्यान्सर लागेको पुष्टि हुनासाथ भारतको नयाँ दिल्लीमा उपचार गरी शनिबार साँझ उनलाई विराटनगर ल्याइएको थियो ।
आइतबार विहान पुनः स्वास्थ्य समस्या भएपछि उनलाई नोवेल अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको बताइएको छ ।
विराटनगर–३ स्थित बुद्धोदय सहकारी संस्थाका पूर्वर् अध्यक्षसमेत रहेका दाहाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट सेवानिवृत भएपछि सामाजिक क्षेत्रसँगै राजनीतिमा पनि आवद्ध भएका थिए । पछिल्लो समय उनी रास्वपाको अनुशासन आयोगका रहेर काम गरेका थिए ।
नजिकबाट चिन्नेहरुले उनी मिलनसार र सहयोगी स्वभावको भएको बताउँछन् । दाहालको निधनको खबर सुनेपछि विराटनगर–३ निवासी दुर्गा चापागाईंले सबैको लागि असल, कसैप्रति दुष्ट्याइँ र छलकपट नगर्ने, कसैको धनसम्पति प्रति लोभलालच नराख्ने, आफनै पौरखमा रमाउने र रोपेको बिरुवा मलजल गरेर हुर्काउने उनको स्वभाव रहेको उल्लेख गरेकी छन् ।
‘सामुहिक काम सफल बनाउन सधै काँध थापेर हिड्ने तपाईलाई कसरी अन्तिम श्रद्धाञ्जली भनौं गोविन्द जी, तपाईको आत्माको चिर शान्तिको कामना’, चापागाईंले फेसबुकमा लेखेकी छन् ।
दाहालकी श्रीमती, एक छोरा र एक छोरी छन् । क्यानडामा रहेका छोरा आएपछि मात्र उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
View : 568
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved