Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरको सांस्कृतिक पहिचानसँग जोडिएको भीमसेन जात्रा भव्य (फोटो)

उद्‌घोष संवाददाता
२१ भदौ २०८२, शनिवार

विराटनगर । विराटनगरमा बसोबास गर्ने नेवार समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको भीमसेन जात्रा भव्य रूपमा मनाइएको छ ।

विराटनगर–१० स्थित सनसारी माईस्थानमा रहेको भीमसेन मन्दिर सेवा समितिले इन्द्रजात्राको अवसर पारेर विराटनगरमा प्रत्येक वर्ष भीमसेन जात्रा निकाल्दै आएका छन् । यस वर्ष पनि भव्य रूपमा जात्रा निकालिएको हो ।

जात्रामा नेवार समुदायको मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने गरी झाँकीहरू प्रस्तुत गरिएको थियो । जसका कारण विराटनगरको सांस्कृतिक विविधतालाई थप उजागर गरेको सरोकारवालाहरूले बताएका छन् ।

शनिबार भीमसेन मन्दिर परिसरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले भीमसेनको मूर्तिमा विधिवत् पूजापाठ गरी जात्राको उद्घाटन गरेकी थिइन् । उपप्रमुख कार्कीले जात्राको सुरुवात गरेलगत्तै सनसारी माईस्थानबाट झाँकीसहितको भीमसेन जात्रा निकालिएको थियो ।

उपप्रमुख कार्कीले नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकका रूपमा विश्वमा चिनाउन यस्ता परम्परागत जात्राहरूको ठूलो योगदान रहेको बताइन् ।

उनले नेपालका हरेक जातजातिले आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण गर्नु अपरिहार्य रहेकोमा जोड दिइन् । साथै, आर्थिक दृष्टिले नेपाल अझै पनि कमजोर अवस्थामा रहे पनि यहाँको अतुलनीय सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाका कारण नेपाल विश्वमै एक धनी मुलुकका रूपमा चिनिन सक्ने अथाह क्षमता रहेको उल्लेख गरिन् ।

उनले नेवार संस्कृतिलाई नेपालको एउटा अमूल्य धरोहरका रूपमा व्याख्या गर्दै यसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान दिलाएको बताइन् ।
विराटनगरमा निकालिने भीमसेन जात्रा पनि यही समृद्ध नेवार संस्कृतिको एउटा महत्वपूर्ण प्रतीक भएको उनको भनाइ थियो ।

उपप्रमुख कार्कीले जात्रालाई निरन्तरता दिन तथा भीमसेन मन्दिरको संरचना निर्माण र संरक्षणमा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

जात्राको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, भक्तजन, नेवार समुदायका अगुवा तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

ट्राफिक चोक, महेन्द्रचोक हुँदै पुनः सनसारी माईस्थानमा पुगेर झाँकी टोलीले समापन गरेको हो ।

जात्रामा परम्परागत बाजागाजा, विभिन्न सांस्कृतिक वेशभूषामा सजिएका सहभागीहरू तथा स्थानीयहरूको उत्साहपूर्ण सहभागिताले विराटनगरको माहौल सांस्कृतिकमय बनेको थियो ।

भीमसेन मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तथा जात्राका संयोजक संजय श्रेष्ठले प्रत्येक वर्ष जात्रालाई अझै भव्य र व्यवस्थित बनाउँदै लगिएको बताए ।

समितिका महासचिव भविषकुमार श्रेष्ठले भीमसेन जात्राले नयाँ पुस्तालाई समेत मौलिक भाषा, कला र संस्कृतिप्रति आकर्षित गरेको बताए ।

भीमसेन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेश श्रेष्ठले नेवार समुदायको संस्कृति संरक्षणमा समिति निरन्तर ध्यान दिँदै आएको बताए ।

जात्रामा नेवारसहित अन्य समुदायले समेत सहकार्य गरेका कारण सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा स्थानीय सरकार र समुदायको योगदान उत्कृष्ट बन्दै गएको जनाइएको छ ।

भीमसेन जात्राले धार्मिक आस्था, सांस्कृतिक सद्भाव र सामुदायिक एकतालाई प्रगाढ बनाउनुका साथै भावी पुस्ताका लागि पनि मौलिक नेपाली संस्कृतिलाई हस्तान्तरण गर्न महत्वपूर्ण कडीको रूपमा काम गर्ने जनाइएको छ ।

View : 461

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved