Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

अघोषित लोडसेडिङप्रति संघद्वारा प्राधिकरणको ध्यानाकर्षण

उद्घोष सम्वाददाता
४ पुष २०८१, बिहिवार

विराटनगर । अघोषित र अनियमित विद्युत आपूर्तिले उत्पन्न भएको अघोषित लोडसेडिङका कारण उद्योग व्यवसाय क्षेत्रमा उत्पन्न समस्याबारे उद्योगी व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीसहितको टोलीले बुधबार नेपाल विद्युत प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख ई. मुनेन्द्र ठाकुरलाई भेटेर लोडसेडिङले उद्योग व्यवसायलाई परेको अप्ठ्यारोबारे ध्यानाकर्षण गराएका हुन् । 

नेपाल विद्युत प्रधिकरणले उद्योगमा थप समय विद्युत कटौती हुने गरी गरेको निर्णयमा पूर्वका उद्योगी व्यवसायीले आपत्ति जनाउँदै आएका छन् । 

प्राधिकरणको निर्णयले औद्योगिक क्षेत्रमा १० घण्टासम्म लोडसेडिङ सुरु गरेको भन्दै उनीहरूले उद्योगको तालाचाबी बुझाउनुको विकल्प नभएको बताइसकेका छन् ।

बढ्दो लोडसेडिङका कारण उद्योगहरूको उत्पादन तालिकामा असर परेको र उत्पादन क्षमता पनि ३० प्रतिशतमा खुम्चिएको उद्योगीहरूको भनाइ छ । 

संघका अध्यक्ष राठीले मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरूमा हाल अघोषित रुपले लोडसेडिङ भइरहेको बताए ।

उनले ट्रिपिङ तथा अपर्याप्त विद्युत आपूर्ति हुने गरेकोले यहाँका उद्योगहरूले ठूलो आर्थिक क्षति व्यहोरिरहेको बताए । अनिर्धारित र अनियमित विद्युत आपूर्तिका कारण उद्योगहरूमा मिल मेशिनरी र औजार, प्रविधि, कच्चा पदार्थ, तयारी वस्तुमा समेत क्षति पुगिरहेको भन्दै समस्या समाधानका लागि उनले आग्रह गरेका छन् ।

त्यसैगरी लोडसेडिङले विद्युत आपूर्तिमा समस्या उत्पन्न हुँदा श्रमिकहरूको कार्यगति र व्यवस्थापनमा पनि अवरोध पुगेको, उत्पादित वस्तुको गुणस्तर र क्षमतामा ह«ास आएर उद्योगहरूले अनपेक्षित व्ययभार खेप्नुपरेको बताए । 

प्राधिकरणले तत्कालै आवश्यक कदम नचाले उत्पादित वस्तुहरूको लागत बढ्न गई प्रतिष्पर्धी क्षमता समेत ह्रास हुने र अर्थतन्त्रमै नकारात्मक असर पर्ने उद्योगीहरूले बताए ।

उद्योगीहरूको गुनासोप्रति प्राधिकरणका कोशी प्रदेश प्रमुख ठाकुरले आफूले पनि समस्याबारे जानकारी पाएको बताउँदै आफ्नो तर्फबाट समस्याको वास्तविकताको अध्ययन गरी समाधानका लागि पहल गर्ने आश्वासन दिए ।

यसअघि अघोषित रुपमा लोडसेडिङ गर्दै आएको प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई कारण देखाएर उद्योगमा पिक आवरमा थप समय विद्युत कटौती गर्न थालेको छ । 

विद्युत कटौतीको समय बढेपछि अध्यक्ष राठीसहित महासचिव सञ्जय श्रेष्ठ, कार्यकारी सदस्य अमित राठी लगायतको टोलीले प्राधिकरणका प्रदेश प्रमुखलाई भेटेर ध्यानाकर्षण गराएको संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीले जानकारी दिए ।

View : 52

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved