विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले नेपाली जनताले ठूलो संघर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा सबैको जिम्मेवारी रहेको उल्लेख गरे ।
‘प्रजातन्त्रका लागि भएको संघर्षमा सहिदहरूले अमूल्य जीवन उत्सर्ग गरेका छन्, सहिदहरूको बलिदानको सम्मान गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउन हामी सबै प्रतिबद्ध हुनुपर्छ’ – उनले भने ।
प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै न्याय, समानता, सुशासन र समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
प्रजातन्त्र दिवसकै अवसरमा बुधबार विहान विराटनगरमा र्याली निकालिएको छ । र्यालीमा विभिन्न जातजातीको साँस्कृतिक पहिचान झल्किने झाँकी समेत प्रस्तुत गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिबाट निस्किएको र्याली ट्राफिक चोकबाट महेन्द्र चोक हुँदै बसपार्कबाट पुनः मुख्यमन्त्री कार्यालय पुगेर सभामा परिणत भएको थियो ।
राणा शासन फालेर प्रजातन्त्र स्थापनामा सहिदहरूले बगाएको रगतको सवैले सम्मान गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।
प्रजातन्त्र दिवसकै अवसरमा मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्ट, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभाका सांसदहरू, राजनीतिक दलका नेता, कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।
View : 150
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved