विराटनगर । सुनसरीको इलाका प्रहरी कार्यालय चक्रघट्टीमा कार्यरत प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना र मोरङको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेमा कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरीका प्रहरीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिंदै तिमल्सिना र भट्टराई सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
प्रहरी निरीक्षक तिमल्सिनाले फागुन महिनामा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको गाडीसहित ४०६ केजी ९४० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको र को १ च २९३७ नं. को एम्बुलेन्समा २७३ केजी १३० ग्राम गाँजा बरामद गरी फरार रहेका ६ जनालाई पक्राउ गरेका थिए ।
यस्तै सप्तकोशीको बाढी नियन्त्रण गर्न लगाइएको त्रिखुट्टी पिलर ५२ थान चोरी गर्ने ४ जना मानिस पक्राउ गरेको, युवतीलाई आफ्नो काबुमा पारी जबरजस्ती करणी उद्योग गर्ने जिल्ला सुनसरी बराहक्षेत्र–२ बस्ने सुनिल सिटौलालाई पक्राउ गरेका थिए ।
यस्तै फागुन २१ मा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ लामाटोलीमा १५ वर्षीय बालिकालाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेको घटनाको अनुसन्धानमा खटिइ घटनास्थलको सुक्ष्म अनुसन्धान गरी मोरङकै ग्रामथान–४ का ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीसँग घट्नाको सम्बन्ध स्थापना गर्न सफल भई उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै भट्टराईलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
View : 553
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved