Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

बर्खायाममा पनि उद्योगमा छैन बिजुली, अघोषित लोडसेडिङले उद्योगी हैरान

उद्‌घोष संवाददाता
२६ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । बर्खायाममा पानी परेर खोलानालामा बहाव बढ्ने र विद्युत उत्पादन पर्याप्त हुने भए पनि अहिले उद्योग व्यवसाय क्षेत्र भने विद्युत नभएझैं गरी अघोषित लोडसेडिङको मारमा परेका उद्योगी व्यवसायीहरुले बताएका छन् ।

विद्युत उत्पादनको मुख्य सिजनमै उद्योगहरूले अनिर्धारित, अनियमित र अघोषित विद्युत आपूर्तिको समस्या खेप्दै आएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, अनियमित विद्युत आपूर्ति र पटक–पटक हुने ट्रिपिङ (विद्युत्को उतारचढाव)प्रति मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले कडा विरोध जनाएका छन् । उनले वर्षायाममा समेत विद्युतको समस्या झन् उत्कर्षमा पुगेको बताए ।

बिना कुनै पूर्वसूचना दैनिक रूपमा भइरहेको पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग–व्यवसायहरूमा नकारात्मक प्रभाव परेको र उद्योग नै धराशायी हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । 

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा सुधार भएको दाबी गरिरहे पनि उद्योगहरूले दैनिक घण्टौंसम्म विद्युत अनिश्चितताको सामना गर्नुपरेको अध्यक्ष राठीले बताएका हुन् ।

प्राधिकरणको लापरवाहीका कारण उद्योगहरूमा जडान गरिएका करोडौं मूल्यका अत्याधुनिक मेसिनरी, पार्टपुर्जा, इलेक्ट्रोनिक प्यानल र सफ्टवेयर प्रणालीमा ठूलो क्षति पुग्न थालेको बताइएको छ । यसले उद्योगीहरूलाई मर्मत–सम्भारमा ठूलो र अनपेक्षित आर्थिक भार थपिएको संघले जनाएको छ । 

प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरूमा सवैभन्दा धेरै क्षति हुने गरेको छ । बिचैमा पटक–पटक विद्युत कटौती हुँदा मेसिनभित्र रहेका कच्चा पदार्थ जम्ने, डढ्ने तथा करोडौं रुपैयाँ बराबरको उत्पादन नष्ट भई उद्योगले नोक्सानी व्यहोर्नु परेको संघको भनाइ छ ।

अनियमित विद्युत आपूर्तिका कारण उद्योगहरूमा कार्यरत हजारौं श्रमिक घण्टौंसम्म कामविहीन भएर बस्नुपर्ने अवस्था सिर्जना भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

काम नभए पनि उद्योगहरूले श्रमिकको पारिश्रमिक तथा सञ्चालन खर्च व्यहोर्नु पर्ने बाध्यता रहेको र यसले नेपाली उत्पादनको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता कमजोर बन्दै गएको पनि संघको भनाइ छ ।

‘देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको औद्योगिक क्षेत्रलाई यसरी बिना कुनै पूर्वसूचना र योजना अन्धकारमा राख्नु र उद्योगीहरुको समस्यालाई बेवास्ता गरिनु अत्यन्तै विडम्बनापूर्ण छ’ अध्यक्ष राठीले भनेका छन्, ‘यस्तो गैरजिम्मेवारपूर्ण रवैयाले उद्योगीहरूमा चरम निराशा पैदा गरेको हुँदा नेपाल विद्युत प्राधिकरणलगायत सम्बन्धित उच्च निकायहरू समक्ष यसै विज्ञप्तिमार्फत मोरङ–सुनसरी औद्योगिक क्षेत्रको अघोषित लोडसेडिङ र ट्रिपिङको समस्यालाई तत्काल अन्त्य गर्न हामी जोडदार माग गर्दछौं ।’

विद्युत समस्याले उत्पादन लागत बढ्ने र उत्पादन समय पनि ढिलाई हुने भएकोले बजारमा सामानको अभाव हुने, उद्योगहरूको साख गुम्ने तथा आयातित वस्तुले बजार ओगट्ने जोखिमसमेत बढेको अध्यक्ष राठीले बताएका हुन् । 

उनले औद्योगिक क्षेत्रलाई बिना कुनै पूर्वसूचना र योजनाबिना अन्धकारमा राख्नु तथा उद्योगीहरूको समस्याप्रति बेवास्ता गर्नु अत्यन्त विडम्बनापूर्ण भएको बताए ।

View : 195

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved