Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

चीनमा पनि पहिरोले बाटो अवरुद्ध, बन्द भयो किमाथाङ्का नाका

उद्घोष सम्वाददाता
१४ असोज २०८१, सोमवार

विराटनगर । पहिरोले बाटो अवरुद्ध भएको कारण देखाउँदै उत्तरी छिमेकी चीनले किमाथाङ्का नाकाबाट भइरहेको आवतजावत बन्द गरेको छ ।

कोशीको हिमाली जिल्ला संखुवासभाको भोटखोला गाउँपालिका–१ मा पर्ने किमाथाङ्का नाका चीन स्वशासित क्षेत्र तिब्बत प्रवेशको एउटा मुख्य नाका हो । नेपालीहरुले दैनिक उपभोग्य सामानहरु तिब्बतको चागा र बेनडन बजारबाट ल्याउने गर्छन् । 

शनिबार पहिरोले बाटो अवरोध गरेको र त्यो बाटो खुला नभएसम्म नाकामा आवतजावत रोकिएको चिनिया अधिकारीहरुले नेपाली पक्षलाई जानकारी गराएका छन् ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने ‘चिनिया पक्षले पहिरोले बाटो अवरोध गर्‍यो, हामीले क्लियर नगरेसम्म आवतजावत रोकेका छौं भनेर उताबाट खबर आएको छ । छिटै खुल्छ भन्ने आशा छ ।’ 

प्रजिअ खड्काका अनुसार शनिबार दिउँसो तिब्बती बजारमा किनमेलका लागि पुगेका १६ जना नेपालीमध्ये ८ जनालाई शनिबार साँझ र १० जनालाई आइतबार बिहान नेपालतिर चीनले पठाएको छ ।

‘बाटैमा पहिरो खसेको भन्ने उताको भनाइ छ’, प्रजिअ खड्काले भने ‘चीनतिर जाने दुईटा बाटाहरु छन् । चागाको मात्रै बाटो बन्द हो कि बेनडन बजारतिर जाने पनि बन्द हो बुझ्न सकिएको छैन ।’  

चिनिया प्रहरीले इलाका प्रहरी कार्यालय किमाथाङ्कामा आइतबार बिहान ११ बजे यस्तो सूचना पठाएको थियो ।
 

View : 80

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved