Biratnagar, Morang, Nepal
२० फागुन २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

नेकपा एमाले मोरङ १० औं अधिवेशन

यस्तो छ शिल्पा निराला कार्कीको गुट परिवर्तनको रहस्य

उद्‌घोष सम्वाददाता
१९ फागुन २०८१, सोमवार

उपसचिवमा उम्मेदवारी दिएकी विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की ।

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की विनोद ढकाल समूहकी प्रतिबद्ध कार्यकर्ताका रुपमा चिनिन्थिन् । राजनीतिमा धेरै स्थापित नभएकी उनलाई महानगरको उपप्रमुख बनाउन ढकालकै योगदान रहेको बताउने एमाले कार्यकर्ताहरू धेरै छन् । 

यद्यपि लामो सहकार्य तोड्दै कार्कीले सोमबार भने अन्तिम समयमा संस्थापन समूहबाट एमाले मोरङको उपसचिवमा उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार बिहानसम्म पनि ढकाल समूहकै भित्री छलफलहरुमा सहभागी भइरहेकी उनी अन्तिम समयमा कसरी संस्थापन समूहबाट उम्मेदवार भइन् ? उनले किन छाडिन् विनोद ढकालको साथ ?

एमाले वृत्तमा यतिबेला यो विषयले चर्चा बटुलिरहेको छ । संस्थापन समूहका नेताहरू विनोद ढकाल समूहबाट कार्कीलाई आफ्नो टिममा ल्याइएको र टिम बलियो पारिएको बताइरहेका छन् । उता ढकाल पक्षका नेताहरु भने कार्कीलाई सहमतिमै अर्को पक्षबाट उम्मेद्वारी दिन लगाइएको र अन्तिममा अर्की उम्मेदवार  उषा झा वा कार्कीमध्ये एकलाई मनाएर सहमतिमा निर्विरोध महिला उपसचिव बनाउने तयारी भएको दाबी गर्छन् । 

‘राजनीति हो, सम्भावनाका सबै ढोकाहरू खुलै हुन्छन्’, ढकाल पक्षका एक नेताले भने ‘कार्की र झा मध्ये एक जनाले छाडेर महिला उपसचिव निर्विरोध हुनसक्छ । जो भए पनि हाम्रै समूहबाट हुने सम्भावना छ ।’ संस्थापन पक्षका नेताहरु भने त्यस्तो सम्भावना नभएको बताउँछन् । ‘राजनीतिमा सम्भावना हुन्छ तर यति कच्चा सम्भावना हुने सम्भावना छैन’, संस्थापन समूहका एक नेताले भने ‘अब उहाँ हाम्रो समूहको उम्मेदवार हो ।’ 

एमाले मोरङको जारी १० औं जिल्ला अधिवेशनमा आफ्नै अडान विपरीत अन्तिम समयमा  कार्कीले गुट परिवर्तन गर्दा यस्ता  अड्कलबाजी सुरु भएको छ । ढकाल पक्षले कार्कीलाई संस्थापनतिर लैजाने अर्को पक्षको प्रयास नटिक्ने दाबी गरिरहँदा अर्को पक्ष भने ढुक्क छ । यसबारे कार्की आफै भने खुलेकी छैनन् । मोरङ एमालेको पदाधिकारीका हरेक पदमा दुई-दुई जनाको उम्मेदवारी परेको छ ।

राजकुमार ओझा प्यानलबाट विराटनगरकी उपमेयर कार्की उम्मेद्वार बन्दा अजम्बर राई समूहबाट जिसस मोरङ उपप्रमुख उषा झाको उम्मेद्वारी छ । राई र झा दुवै जिसस नेतृत्वमा भएकाले झालाई ब्याक गराउने सम्भावना रहेको अनुमान लगाउनेहरू पनि छन् । उपसचिवबारे कुन समूहले गरेको दाबी सही हो त्यसको टुंगो लाग्न भने निर्वाचन कमिटीले दिएको उम्मेद्वारी फिर्ता हुने समयसम्म कुर्नुपर्ने हुन्छ । 

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले प्यानल बनाएर चुनाव नलड्न दिएको निर्देशन अवज्ञा गर्दै मोरङमा दुईटा प्यानलले उम्मेद्वारी दर्ता गराएका छन् । ओलीले उपाध्यक्ष रामबहादुर थापा बादलमार्फत चुनावी प्रतिष्पर्धा नगर्न, प्यानल बनाएर प्रतिष्पर्धा नगर्न सन्देश पठाएका थिए । ओलीको निर्देशन उनकै समूहका नेताहरुले नै अवज्ञा गरेका छन्। सहमति गर्ने भन्दै आएको संस्थापन समूहले प्यानलसहितको उम्मेद्वारी दर्ता गराएको छ । अर्को समूहले पनि त्यसै गरेको छ ।

विराटनगरमा जारी एमाले मोरङको १० औं अधिवेशनमा राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा दुईटा प्यानलले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षका दुई उम्मेद्वारमध्ये प्रदेश पूर्वसांसद ओझाले संस्थापन पक्षको प्रतिनिधित्व गर्छन्। उनलाई कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुसंख्यक स्थायी कमिटी सदस्यको साथ छ । अध्यक्षमै उम्मेद्वार बनेका जिसस मोरङका प्रमुख अजम्बर राईलाई नेता विनोद ढकालको समर्थन छ । ओझाको टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, ढकाल समूहबाट अध्यक्ष अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा  सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्। एमाले मोरङ जिल्ला कमिटीले  १६५ सदस्यीय कमिटी छान्नेछ। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ सहित पाँच जना पदाधिकारी निर्वाचित गर्नेछ ।

View : 552

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved