Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

जेनजी आन्दोलनमा महानगरको करिब १ अर्बको क्षति

उद्‌घोष संवाददाता
२८ कार्तिक २०८२, शुक्रवार

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा करिब १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । 

आगजनीका कारण महानगरको प्रशासनिक भवनदेखि विभिन्न वडा कार्यालयहरूमा रहेका भौतिक संरचना र जिन्सी सामग्री पूर्णरूपमा नष्ट भएका हुन् ।

महानगरका मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ मात्रै २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । 

यो क्षति प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र वडा नम्बर १९ सम्ममा भएको बताइएको छ । 

त्यस्तै, स्काभेटर, शवबाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर र मसलन्द सामग्रीलगायत जिन्सी सामानमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ बराबरको क्षति पुगेको महानगरले जनाएको छ । 

यो त भौतिक र जिन्सी क्षतिको मात्र विवरण हो, मेयर कोइरालाले भने, सबैभन्दा ठूलो क्षति त जनताका महत्वपूर्ण कागजातहरू जलेर नष्ट हुनु हो । घरजग्गा शाखादेखि अन्य शाखासम्मका सबै कागजपत्र खरानी भएका छन् ।

यसले महानगरको आगामी विकास योजनामा प्रत्यक्ष असर पार्ने निश्चित भएको मेयर कोइरालाले बताए । यद्यपि, उनले सेवाप्रवाहमा भने कुनै अवरोध हुन नदिएको स्पष्ट पारे । हामीले अस्थायी रूपमा टेन्टमार्फत सेवा निरन्तरता दिएका छौं, उनले भने । 

उप–मेयर शिल्पा निराला कार्कीका अनुसार न्यायिक समितिको इजलाससमेत अहिले टेन्टमै बस्दै आएको छ । हामी प्रत्येक सोमबार र बुधबार इजलास सञ्चालन गर्छौं, उनले भनिन् । 

प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालका अनुसार क्षतिग्रस्त भवनहरूको प्राविधिक परीक्षणपछि केही भवनहरूमा मर्मत, रंगरोगन, विद्युत र इन्टरनेट जडानको काम तीव्र गतिमा भइरहेको छ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरको प्रशासनिक भवन र वडा नम्बर १ देखि १२ तथा वडा नम्बर १९ मा व्यापक आगजनी भएको थियो । 

महानगरका सबै सेवा भने हाल पुनः सुचारु भइसकेका छन् ।

View : 271

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved