Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नीति तथा कार्यक्रममा छलफल

बाध्यताले पक्ष र प्रतिपक्षको ‘लाइन’ मात्रै बोल्छन् सांसद

उद्‌घोष संवाददाता
११ जेठ २०८३, सोमवार

विराटनगर । सोमबार प्रदेशसभा बैठक सकेर विराटनगरस्थित वीरेन्द्र सभागृहबाट बाहिर निस्कंदै गरेका तीन जना सांसदहरू सामुमा रहेको चिया पसलमा प्रवेश गरे । त्यहीं बसेर चिया पिउँदै गरेका संसदीय पत्रकारहरूले उनीहरूलाई सोधे ‘माननीय ज्यू कस्तो हुँदैछ त नीति कार्यक्रममाथिको छलफल ?’ जवाफमा उनले जे भने, त्यसले प्रदेशसभामा सधैं चल्ने एउटा कर्मकाण्डबारे दिक्दारी पोख्थ्यो ।

‘के हुनु र, हामीले ज्यादै राम्रो छ भन्ने, उहाँहरूले ज्यादै नराम्रो छ भन्ने त हो नि,’ एमालेका ती सांसदले आफ्नो बाध्यता मात्रै सुनाइरहेका थिएनन्, सँगै चिया पिउन आएका विपक्षी नेकपाका अर्का सांसदको ‘धर्म’ पनि उल्लेख गरेका थिए । 

नेकपाका ती सांसदले फिस्स हाँसेर एमाले सांसदको भनाइमा समर्थन जनाए ।

जेठ ७ मा प्रदेशसभामा प्रस्तुत भएको कोशी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमाथि प्रदेशसभामा छलफल चलेको सोमबार दुई दिन पूरा भएको छ । 

नीति तथा कार्यक्रममाथि प्रदेशसभामा दुई दिनसम्म भएको नीतिगत छलफल ती सांसदहरूले भने भन्दा कुनै अर्थमा फरक नभएको धेरै सांसदहरू नै बताउँछन् । 

नीति तथा कार्यक्रम होस् वा बजेटमाथिको छलफल, प्रदेशसभामा  सत्ता पक्ष र प्रतिपक्षबीच सधैं ध्रुवीकरण हुँदै आएको छ । 

यद्यपि नीतिगत छलफललाई समेत सार्वभौम नागरिकका प्रतिनिधिहरूले पार्टी स्वार्थको बन्धक बनाउँदै लगेका छन् । जसका कारण उनीहरू लागेको होइन, जे भन्दा नेतृत्व खुसी बन्छ, सोही कुरा सदनमा बोलिरहेका हुन्छन् ।

यसपटकको नीति कार्यक्रमलाई पनि सदा झैं सत्तारूढ सांसदहरूले कार्यक्रमलाई ‘प्रदेशको भविष्य बदल्ने रोडम्याप’ भनेर प्रशंसाको पुल बाँधिरहेका छन् । विपक्षीहरू भने ‘कर्मकाण्डी दस्तावेज’ भन्दै कठोर आलोचना गर्नमा व्यस्त छन् । 

सोमबारको प्रदेशसभा बैठकमा विपक्षी सांसदहरूले सरकारसँग नयाँ सोच, स्पष्ट प्राथमिकता र कार्यान्वयनको विश्वसनीय आधार नभएको आरोप लगाए । मुख्य विपक्षी नेकपाका सांसद दुर्गाप्रसाद चापागाईंले नीति तथा कार्यक्रमलाई पुरानै दस्तावेजको पुनरावृत्तिको संज्ञा दिए । 

‘विगतका असफलता किन भए भन्ने समीक्षा छैन,’ उनले भने, ‘असफल योजनालाई फेरि दोहोर्याइएको छ । जनताले खोजेको नयाँपन र भरोसा दस्तावेजमा भेटिँदैन ।’

नेकपाकै अर्का सांसद जीवन आचार्यले सरकारको आर्थिक सोचमाथि प्रश्न उठाउँदै राजस्व संकलनको आधार अत्यन्त कमजोर देखिएको टिप्पणी गरे ।

‘राजस्वको भर सवारी करमै सीमित देखिन्छ,’ उनले भने, ‘बागमती प्रदेशले अनलाइन भुक्तानी प्रणाली लागू गरिसक्दा कोशी अझै पछि छ ।

पर्यटन प्रवर्द्धनका लागि बिहार र पश्चिम बंगालसँग कूटनीतिक पहल गर्ने स्पष्ट योजना किन छैन ?’ सोही दलका अर्का सांसद नारायणबहादुर बुर्जा मगर, राजन किराती लगायतले  पनि नीति कार्यक्रमको आलोचना गरेका थिए ।

सोमबार मात्रै होइन, आइतबारको बैठकमै पनि विपक्षी सांसदहरूले सरकारमाथि अझ कडा प्रहार गरेका थिए । 

नेकपाकै  सांसद गोम्बु शेर्पाले नीति तथा कार्यक्रमलाई दिशाहीन भएको आरोप लगाउँदै मन्त्रीहरू नै आफ्ना कार्यक्रमबारे स्पष्ट नभएको बताएका थिए । 

गणेशप्रसाद उप्रेतीले पर्यटन वर्ष घोषणा पूर्वाधारविनाको प्रचारमुखी कदम भएको दाबी गरेका थिए ।  

विपक्षीले यसो भनिरहँदा सत्ता पक्षका सांसदहरूले भने नीति तथा कार्यक्रमले प्रदेशको दीर्घकालीन विकासको आधार तयार गरेको दाबी गरेका थिए । 

कांग्रेस सांसद मैयाँ श्रेष्ठले ‘सक्षम छोरी’ र ‘किशोर–किशोरी आत्मरक्षा’ जस्ता कार्यक्रमलाई सामाजिक रूपान्तरणसँग जोडिएको सकारात्मक पहल भएको बताइन् । 

एमालेका  रमेशकुमार बस्नेतदेखि सांसद नीरादेवी खनालसम्मले नीति कार्यक्रमले प्रदेशको अवस्थामा सुधार ल्याउने विश्वास प्रकट गरेका थिए । 

यसअघि आइतबारको बैठकमा एमाले सांसद राधाकृष्ण खनालले ‘युवा ट्यालेन्ट हन्ट’ र ‘म अघि बढ्छु’ कार्यक्रमले नयाँ पुस्तामा आशा जगाउने भनेर प्रशंसा गरेका थिए ।  

एमालेकै सांसद जयप्रकाश चौधरी र किशोरचन्द्र दुलालले नीति तथा कार्यक्रमलाई सरकारको औपचारिक दस्तावेज मात्र नभई जनताको दैनिकीसँग जोडिएको परिवर्तनको खाका भएको दाबी गरेका थिए । 

यसरी प्रदेशसभामा समर्थन र विरोधका तीखा आवाजबीच नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । तर, सांसदहरूकै भनाइ अनुसार नै सत्ता पक्षले समर्थन र विपक्षीले आलोचना गरिरहेको नीतिगत छलफल भने कर्मकाण्डमै सीमित भइरहेको छ ।

View : 93

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved