विराटनगर । सर्वसाधारणको करिव ९ करोड रुपैंयाँ ठगी गरेको आरोपमा विराटनगरको माछापुच्छ्र्रे सहकारीका अध्यक्ष अम्लेश कर्ण पक्राउ परेका छन् । गरिबको रकम निजी सम्पत्ती बनाएर दुई वर्षदेखि भूमिगत भएका कर्ण पक्राउ लगत्तै बिरामी परेका छन् ।
यति ठूलो रकमको दायित्व उनको काँधमा आएपछि रक्तचाप बढेर उनलाई अस्पतालमा राखिएको छ । करिव एक हजार जनाको बचत रकम हिनामिना गरेको उनलाई आरोप छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कर्णबिरुद्ध ५० भन्दा बढीले बचत रकम दिलाई दिन र ठगी गर्नेलाई कारवाही गर्न माग गर्दै निवेदन दिई सकेका छन् । सहकारीका २६ जनाबिरुद्ध प्रहरीमा जाहेरी परे पनि अध्यक्ष मात्रै पक्राउ परेको बताइएको छ ।
बुधबार पक्राउ परेका कर्णलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट म्याद थप गराई प्रहरीले अरु आरोपीको खोजी गरिरहेको छ । अरु आरोपी नभागुन् भनेर कर्ण पक्राउ परेको विषयमा प्रहरीले सूचना गोप्य राखेको छ । एक जना पक्राउ गरिएको र अरु आरोपी पनि पक्राउ गर्नुपर्ने भएकाले सार्वजनिक नगरिएको मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।
शारीरिक सुगठन र मोडलिङबाट सहकारीमा प्रवेश गरेका ५० वर्षीय कर्णका निकट साथीहरुका अनुसार उनलाई कुनै पनि रोगको समस्या थिएन ।
नियमित जिम गर्ने भएकाले स्वस्थ्य रहने उनी रोगी नभए पनि ठूलो रकम हिनामिनाको आरोप लागेपछि उच्च रक्तचापको समस्यामा परेको अनुमान उनी निकटहरुले गरेका छन् । रक्तचाप बढेकाले कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीको भनाइ छ ।
विराटनगरमा जनसम्पर्क बढी भएका कर्णलाई कोशी अस्पतालका चिकित्सकले आईसीयूमा राखेर उपचार गर्न सुझाव दिएका छन् ।
नेपाल प्रहरीमा कर्णका मिलनसार साथी एक जना प्रहरी वरिष्ठ उपरीक्षक रहेकाले पनि बिरामीको बहानामा उनलाई अस्पतालमा राखेर अनुसन्धान गर्न मोरङ प्रहरीले सहजीकरण गरेको बताइएको छ । मोडलिङ गर्दागर्दै बिवाह गरेका कर्णले कागजी रुपमा पारपाचुके गरेर बसेको बताइएको छ ।
सहकारीमा सर्वसाधारणले गरेको बचतको रकमले निजी सम्पत्ती जोडेका कर्णले श्रीमतीका नाममा राखेको जमिन सुरक्षित राख्न सम्बन्ध बिच्छेद गरेको बताइएको छ ।
कर्ण २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा स्वन्तन्त्र उम्मेदवारी दिएका व्यक्ति हुन् । सहकारीको अध्यक्ष रहेर मासिक रुपमा तलव लिने गरेका कर्णसहित सहकारीका सञ्चालक र कर्मचारीबिरुद्ध प्रहरीमा जाहेरी छ । कर्ण पक्राउसँगै सहकारी ठगीमा संलग्नहरु सम्पर्कबिहीन भएको बताइएको छ ।
यसअघि कर्ण भूमिगत हुने बित्तिकै नेपाली कांग्रेस मोरङका नेता ललित श्रेष्ठको उपस्थितिमा मोरङको सुन्दरहरैंचामा एउटा बैठक भएको थियो । बचतकर्ताको रकम बिस्तारै फिर्ता गर्ने सहमति गरेर नयाँ संचालकले सहकारी सञ्चालन गर्ने बचन दिएका थिए । नयाँ सञ्चालकमध्ये केही हिनामिना रकमका आरोपीहरु भएको बताइएको छ ।
‘गरिबको पैसा जम्मा गरे, ऋण लगानी गरेनन् आफू आफू बाँडेर खाए’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने–‘धेरै जनाले धेरै वर्षमा रकम सकेकाले सम्पत्ती जोडेको भन्दा पनि तलब, भत्ता र भोज खाएरै सकेको हुनसक्छ ।’
View : 505
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved