Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सडक दुर्घटनाको भयावह रूप, लापरबाहीले अनाहकमा लिँदैछ ज्यान

मोरङमा मात्रै वर्षदिन भित्र १२५ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।
उद्‌घोष संवाददाता
१५ साउन २०८२, बिहिवार

विराटनगर । सडक सुरक्षालाई उच्च प्राथमिकता दिएको बताउने  तीन वटै तहका सरकारको दाबी खण्डित हुने गरी कोशी प्रदेशमा सडक दुर्घटना भयावह आकारमा बढिरहेको छ । दुर्घटना बढेपछि त्यसबाट ज्यान गुमाउनेहरूको संख्या पनि प्रदेशमा लगातार थपिइरहेको छ । सवारी दुर्घटनाबाट प्रदेशभरीमा सबैभन्दा धेरै मृत्यु हुने संख्या मोरङमा छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को तथ्यांकले कोशी प्रदेशका राजमार्ग र सडकहरू मृत्युमार्ग बनिरहेको नमिठो अवस्था चित्रण गर्दछ ।

गत वर्षको साउनदेखि यसपटकको असार अन्तिमसम्मको १२ महिनाको अवधिमा मात्रै कोशी प्रदेशका १४ जिल्लामा ५ हजार ६ सय २६ वटा सडक दुर्घटना भएका छन् । 

ती दुर्घटनामा परेर ४१८ जनाले ज्यान गुमाएका छन् भने ९ हजार २ सय ४१ जना घाइते भएका छन् । गम्भीर  घाइतेको संख्या ७११ छ ।

‘अघिल्लो आर्थिक वर्षको दाँजोमा दुर्घटना संख्या, मृतक र घाइते सबैको संख्या बढेको छ’, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख डिएसपी सन्तोष श्रेष्ठले भने ‘भर्खरै बितेको आर्थिक वर्षमा भएका दुर्घटनामध्ये ५७ प्रतिशत भन्दा बढी संख्या मोटरसाइकलकै देखिन्छ । ज्यान गुमाउनेहरू पनि बाइकमै भएकाहरू धेरै छन् ।’

आर्थिक वर्ष २०८०–८१ मा कोशीका १४ जिल्लामा ३ हजार ५ सय ६३ वटा सडक दुर्घटना हुँदा ३९७ जनाको मृत्यु भएको थियो । ६ हजार ७६ जना घाइते भएका थिए ।

बितेका दुई आर्थिक वर्षको तुलना गर्दा पछिल्लो वर्ष कोशीमा दुर्घटना संख्या २ हजार ६३ वटा अर्थात् ५८ प्रतिशतले बढेको छ ।

मृत्युदर ५ प्रतिशतले बढ्दा घाइतेहरूको संख्या ३ हजार १ सय ६५ ले बढेको छ । जुन ५२ प्रतिशतले बढी हो । 

जिल्लागत रूपमा दुर्घटनाबाट ज्यान गुमाउने सबैभन्दा धेरै मोरङमा छन् । भर्खरै बितेको आर्थिक वर्षभित्र मोरङमा मात्रै १२५ जनाको मृत्यु भएको छ ।

झापामा ९५ जनाले ज्यान गुमाउँदा सुनसरीमा ९१, उदयपुरमा ३६, धनकुटामा १३, संखुवासभामा १२, इलाममा ११ र भोजपुरमा १० जनाले दुर्घटनामा परेर मृत्युवरण गर्नुपरेको छ । त्यस्तै खोटाङमा ६ जना, पाँचथरमा ५, ताप्लेजुङ, ओखलढुंगा र सोलुखुम्बुमा ४–४ जना र तेह्रथुममा २ जनाले ज्यान गुमाएका छन् ।

ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल चालकको लापरबाहीले यस्तो भयावह अवस्था निम्त्याइरहेको छ कि, सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरू लगातार थपिइरहेका हुन् ।

दुर्घटना न्यूनीकरणका लागि अनेकौं उपाय अवलम्बन गरिएको सरकारी भनाइ बारम्बार सुनिन्छ । प्रहरी, समुदाय हातेमालो गरेर अघि बढ्ने गफ त झन् बाक्लै आउँछ । तैपनि दुर्घटना संख्या बढेको बढेकै छ ।

स्वाभाविक छ, दुर्घटना बढेपछि मृतक संख्या स्वतः बढ्ने नै भयो । तर, यसको मुख्य कारण खोज्ने, दोषी पत्ता लगाउने, कार्वाही गर्ने र आगामी दिनमा दुर्घटना हुनै नदिन सजगता अपनाउने सचेतता नदेखाउँदा राजमार्ग मृत्युमार्ग बनिरहेको छ ।

अनियन्त्रित गति, सडक लेनको पालना नहुनु, सर्वसाधारणमा सवारी नियमको वास्ता नहुनु र जानाजान दुर्घटना गराउनेहरू पनि सजिलै जोगिने कमजोर कानूनी व्यवस्थालगायतका कारणले दुर्घटना बढेको सम्बद्ध पक्षको भनाइ छ ।

इटहरीस्थित ट्राफिक कार्यालयमा डीएसपी श्रेष्ठ कोशीमा मोटरसाइकलले दुर्घटना र मृतक धेरै बढाउनुको मुख्य कारण तीव्र गति र लेन अनुशासन मिचेकै कारणले हो । 

‘लापरबाहीपूर्वक बाइक चलाउनेहरूले दुर्घटना बढाएको र मृत्युवरण गरेको धेरै छ’, उनले भने ‘मादक पदार्थ सेवन गरेर बाइक चलाउने घटना धेरै पाइएको छ ।’ उनका अनुसार चार पांग्रे वा तीन पांग्रेको दाँजोमा दुई पांग्रे सवारीसाधन धेरै दुर्घटनामा परेका छन् । ज्यान गुमाउनेहरू पनि दुई पांग्रेकै बढी छन् ।

View : 339

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved