विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस) राष्ट्रिय एथलेटिक्स संघको आयोजनामा बुधबार बिहान विराटनगरमा मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको छ । करिव तीन सय जनाले सहभागिता जनाउने उक्त दौड विराटनगरको शहीद रङ्गशालाबाट बिहान ७ः१५ बजे सुरु हुने जनाइएको छ ।
प्रतियोगिताबारे जानकारी दिन मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष अनिरुद्र चौधरीले शहीद मैदानबाट दौड सुरु भएर तीनपैनी– बरगाछी–शनिमन्दिर–हस्पिटल चोक हुँदै पुनः शहीद मैदान अगाडि पुगेर समापन हुने जानकारी दिए । पुरुष तथा महिला समुहमा ५ किलोमिटर र १५ वर्ष मुनिको उमेर समुहमा ३ किलोमिटर दौड प्रतियोगिता हुने बताए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डसँगको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार १११, द्वितीयलाई १० हजार १११, तृतीयलाई ७ हजार १११, चौथौँलाई ५ हजार १११ र पाँचौँलाई ३ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । त्यसैगरी छात्रछात्रा दौडतर्फ भने पहिलो हुनेलाई ८ हजार १११, दोस्रोलाई ६ हजार १११, तेस्रोलाई ४ हजार १११, चौथोलाई २ हजार १११ र पाँचौँलाई १ हजार १११ रुपैयाँ प्रदान गरिने जनाएको छ ।
मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा नेकोस राष्ट्रिय एथलेटिक्स संघको आयोजनामा हुने दौड प्रतियोगिता सम्पन्न गर्न करिव चार लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।
View : 200
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved