Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

एसिसी पुरुष यु-१६ क्रिकेट : नेपालद्वारा सिङ्गारपुर पराजित

उद्‌घोष संवाददाता
८ असार २०८२, आइतवार

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सिङ्गापुरमाथि छ विकेटले जित निकालेको हो ।

जितका लागि एक सय ३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक ५५ रनको योगदान गरे । उनले ९७ बलमा पाँच चौकाको सहयोगमा ५५ रन जोडेका हुन् । रौनक श्रीवास्तवले ४० रन बनाए ।

सिङ्गापुरका लागि आकाश तेजाले तीन विकेट लिए भने युभान पाण्डेले एक विकेट झारेका हुन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनाएको थियो ।

सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान गरे । ओपनर आहान भुधानभामले ३८ रन बनाउँदा अर्का ओपनर रोशन अरुनले ११ रन जोडे ।

नेपालका लागि कप्तान विपिन शर्माले चार विकेट लिए भने सचिन भट्टले तीन विकेट झारे । त्यसैगरी शुभम खनाल र अभय यादवले समान एक÷एक विकेट लिए । यो जितसँगै नेपालले दुई अङ्क बटुलेको छ ।

अब नेपालले आफ्नो दोस्रो खेल यही असार १० गते जापानसँग खेल्नेछ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।

नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् ।

त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

View : 494

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved