काठमाडौँ । यही मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् ।
सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।
गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् । शर्माले प्रेस चौतारी नेपाल र प्रेस युनियनसहितको प्यानलबाट उम्मेदवारी दिएकी हुन् । त्यस्तै प्रेस युनियन निकट बिष्टले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाँई, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीको उम्मेदवारी परेको छ ।
चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् । पुरी प्रेस सेन्टरका हुन् ।
उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार रहेका छन् । पण्डित चौतारी नेतृत्व प्यानलका उम्मेदवार रहेका छन् ।
त्यसैगरी महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।
जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार रहेका छन् । न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार रहेका छन् ।
५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १ सय ३३ जनाको उम्मेदवारी परेको छ ।
महासंघको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
View : 199
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved