Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

जनता आधारभूत विद्यालय दरहियाको ६४ औँ वार्षिकोत्सव

उद्‌घोष संवाददाता
१८ माघ २०८२, आइतवार

विराटनगर । विराटनगर–१२ दरहियास्थित जनता आधारभूत विद्यालयले आइतबार एक विशेष समारोहका साथ आफ्नो ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ।

वडाको तर्फबाट निःशुल्क पोशाक

कार्यक्रमका प्रमुख अतिथि एवं विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामतले विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता जनाए । उनले यस शैक्षिक वर्षमा वडा कार्यालयको तर्फबाट विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूलाई नयाँ पोशाक (युनिफर्म) उपलब्ध गराउने महत्वपूर्ण घोषणा गरे।

स्मृति छात्रवृत्ति र नगद सहयोग

समारोहमा पर्यटन व्यवसायी भविष श्रेष्ठले आफ्नी स्वर्गवासी आमाको स्मृतिमा स्थापना गरेको ‘श्रीमती विष्णु श्रेष्ठ स्मृति छात्रवृत्ति’ वितरण गरिएको छ। व्यवसायी श्रेष्ठ र उनकी बहिनी निशा श्रेष्ठले कक्षा ४ की छात्रा बबिता राम र कक्षा ३ की छात्रा अनुष्का सिंहलाई जनही ५ हजार १ सय रुपैयाँ नगद प्रदान गरेका थिए । 

त्यसैगरी, समाजसेवी राधेश्याम कट्टेलले विद्यालयको उन्नतिका लागि प्रत्येक वर्ष विशेष सहयोग गर्ने घोषणा गर्दै यस वर्षका लागि १५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण  गरे ।

प्रतिवेदन र सांस्कृतिक प्रस्तुति

विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ढकालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाल विद्यालयमा १७१ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी खेलकुदका विजयी र वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। सो अवसरमा विद्यार्थीहरू र शिक्षिका रूपमकुमारी मिश्रले आकर्षक नृत्य तथा सांस्कृतिक कला प्रस्तुत गरेकी थिइन् ।  

शुभकामना मन्तव्य

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य एवं विराट राजवंशी सांस्कृतिक पुस्तकालयका सभापति कुशेश्वर राजवंशी, अरुणोदय आधारभूत विद्यालयका प्रअ जीवन कोइराला, विव्यस सदस्य रोशनीदेवी राजवंशी र पञ्चमुखी युवा समाजका निकेश मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । 


 

View : 270

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved