बजेट २०८२-०८३
विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट पेश गरे ।
बजेटले मोरङ–सुनसरी औद्योगिक करिडोरमा उद्योगधन्दा सञ्चालन गरिरहेका उद्योगी र सम्वद्ध संघ संगठनहरूले भने औसत राम्रो प्रतिक्रिया दिएका छन् । उनीहरूले बजेटका कारण उद्योग व्यवसाय क्षेत्रमा आशा गर्ने ठाउँ रहेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी पर्याप्त बजेट विनियोजन भएको बताए ।
सरकारले राजश्वको लक्ष्य समेत गत वर्षको भन्दा केही घटाएर ल्याएकोले वस्तुगत यथार्थमा बजेट आएको जानकारी दिए ।
धानको उत्पादन बढाएर चामल आयात घटाउने, युवा उद्यमीलाई ३ प्रतिशत ब्याजमा ऋण, १० करोड माथिको उद्योग व्यवसाय गर्ने स्टार्टअपलाई पाँच वर्षसम्म आयकर छुट लगायतका प्रावधान महत्वपूर्ण रहेको बताए ।
उनले एक्जिम कोडमा लाग्दै आएको बैंक ग्यारेण्टी खारेजी उचित भएको बताए ।
‘बजेटले कृषि क्षेत्रलाई समेटेको छ, धानको उत्पादन बढाएर चामलमा आत्मनिर्भर हुने सकारात्मक छ, युवालाई ३ प्रतिशत ब्याजमा ऋण, होटल रिसोर्टमा लाग्ने विद्युत महसुल छुट, सूचना प्रविधिको बिक्री गर्ने उद्योगलाई कर छुट जस्ता बिषय पनि सकारात्मक छन्’ अध्यक्ष राउतले भने, ‘नेपालीले विदेशमा लगानी गर्न पाउने सीमालाई सहुलियत गरिएको छ, भन्सार बिन्दुमा दाल गेडागुडी फलफुल लगायत खाद्यवस्तुमा लाग्दै आएको अग्रिम आयकर पनि खारेज गरिएको छ, निजी क्षेत्रको साझेदारीमा व्यवस्थित शहरीकरणको कार्यक्रम अघि बढाउने सरकारको योजना राम्रो देखिन्छ ।’
उनले कोशी प्रदेशमा जलन अस्पतालको स्थापना गर्नेदेखि चतरा–लेगुवा ट्रयाक खोल्ने जस्ता पूर्वाधार विकास योजना समेत बजेटले समेटेका कारण महासंघले बजेटलाई सकारात्मक रुपमा हेरेको बताए ।
त्यसका वावजुद पनि विराटनगरले विगतदेखि माग गर्दै आएको प्रदर्शनी कक्ष, विशेष आर्थिक क्षेत्रको विकास, विराटनगरलाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नती जस्ता बिषयमा भने बजेट मौन देखिएको प्रतिक्रिया दिए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले बजेटमार्फत सरकारले आर्थिक सुधारका क्षेत्रमा केही हिम्मत गरेको प्रतिक्रिया दिए । उनले लिकर्स र चुरोटमा थप करको औचित्य नरहेको बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बजेटमा केही कार्यक्रम राम्रो गरी ल्याउन खोजिएको बताए । उनले उद्योग संगठनजस्ता निजी क्षेत्रका संस्थाले अघि बढाइसकेको ‘इन्क्वीवेशन सेन्टर’, स्टार्टअप उद्यमी, युवा उद्यमशिलता जस्ता क्षेत्रलाई बजेटले सम्बोधन गरेको बताए ।
‘महिलाहरूले उद्योग दर्ता नवीकरण गर्दा केही पनि शुल्क नलाग्ने व्यवस्था सकारात्मक छ, हाइड्रोपावरबाटै पावर बिलिङ गर्न सक्ने व्यवस्था राम्रो छ, रिप्रोसेसिङ युनिट र विदेशमा पनि उद्योग व्यवसाय विस्तार गरी अफिस खोल्न थप सहजीकरण भएको छ’ उनले भने, ‘स्टार्टअपमा ७३ करोड छुट्याएर राम्रो आएको छ ।’
संगठनका पूर्वअध्यक्ष सुयश प्याकुरेलले बजेटको प्रस्तुतिकरणमा विगत ५ वर्षदेखिको परम्परा बदलिन नसकेको बताए । उनले पछिल्ला बजेटका ८० प्रतिशत भाषण एउटै जस्तो लाग्ने गरेको बताए ।
आगामी बजेटमार्फत साना–साना आयोजना खासै नदेखिएको बताए ।
कार्यक्रममा ल्याउने तर कार्यान्वयन नगर्ने परम्पराभन्दा कार्यक्रम नै नल्याउनु उचित हुने कुरालाई यसपटक बजेटमार्फत कार्यन्वयन गरिएको उनले टिप्पणी गरे ।
‘विगत ५ वर्षदेखिको बजेट हेर्यो भने ८० प्रतिशत भाषण हामीले सुनिसकेकै हो, बाँकी केही कार्यक्रमहरू बजेट भाषणमा ल्याउने तर कार्यन्वयनमा ल्याउनै नसक्ने अवस्था देखेर सरकारले केही ती कार्यक्रम नै बन्द गरिदिएको छ, साना कार्यक्रम यसपटक खासै नदेखिनु राम्रो छ’ प्याकुरेलले भने, ‘कार्यान्वयन नै गर्न नसक्ने अमरडुवाको औद्योगिक क्षेत्र र प्रदर्शनी स्थल यसपटक बजेटमा नसुन्दा मलाई चैं राम्रो लागेको छ, भनेर नगर्नु भन्दा आसै देखाउनु भएन, ठिक छ ।’
उनले सरकारले यसपटक प्रदेश र स्थानीय तहमा पठाउने अनुदान रकम बृद्धि गर्नु सकारात्मक रहेको बताए । साथै निजी क्षेत्रले सुरु गरिसकेका कार्यक्रम पनि बजेटमा समेटिएर आएको र बजेटको साइज पनि ठिकै रहेको प्रतिक्रिया दिए ।
उद्योगी महेश जाजूले खाद्य वस्तुमा अग्रिम आयकर हट्नु निर्यातमुखी उद्योगका लागि निकै स्वागतयोग्य भएको बताए । उनले नेपाली उद्योगीलाई विदेशमा लगानी गर्न दिने व्यवस्था पनि सकारात्मक रहेको बताए ।
मोरङ उद्योग व्यापार संघका कार्यवाहक अध्यक्ष अनिल साहले बजेटमा निजी क्षेत्रले प्रस्तुत गरेका सुझावलाई सरकारले समेट्ने प्रयास गरेको बताए ।
उनले महिलालाई उद्योग व्यवसायमा प्रोत्साहन गर्न कर छुट लगायतका व्यवस्था ल्याइनु निकै प्रशंसनीय रहेको बताए ।
संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले देशलाई सुहाउँदो आकारमा बजेट आएको प्रतिक्रिया दिए ।
उद्योगलाई प्राथमिकतामा राखेर बजेट आएको बताए । साथै नेपालको बजार खोल्ने प्रयास गरिएको, पर्यटनलाई फोकस गरिएको र खानी लगायतका नयाँ उद्योगका क्षेत्रमा उद्योगी व्यवसायीलाई आकर्षण गर्न खोजिनु सकारात्मक भएको जानकारी दिए ।
View : 149
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved