झण्डा फाल्नेहरुको सीसीटीभीले रेकर्ड भएको तस्वीर ।
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर प्रवेश गर्ने नागरिकलाई स्वागत गर्न राखिएको नेपालको राष्ट्रिय झण्डा मध्यरातमा युवाको समूहले हटाएर उपद्रो गरेका छन् ।
विराटनगर ३ र ४ को मध्यभागमा पर्ने कोशी राजमार्गमा स्थानीय राजधानी युवा क्लवले आगन्तुकलाई स्वागत गर्न नेपालको राष्ट्रिय झण्डा फहराएर लहरै राखेको थियो । सडकको मध्य भागमा ठूला १२ वटा नेपालको राष्ट्रिय झण्डा राखिएपछि आगन्तुकले सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका थिए ।
बिहीबार राति साढे १० बजे तीन जनाको समूह आएर झण्डा हटाएपछि प्रहरीले खोजी गरेको थियो ।
मोरङ ग्रामथान–५ का २४ वर्षीय विशाल विश्वास र विराटनगर–३ निवासी दाजुभाइ २२ वर्षीय सुमन र सुजन साहले नेपालको राष्ट्रिय झण्डा निकालेर लछारपछार गरेका थिए । ती मध्ये विश्वासलाई शुक्रबार पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । साह दाजुभाई भनें फरार छन् । झण्डा राख्ने क्लवले उनीहरुलाई हदैसम्मको कारवाहीको माग गरेको छ ।
क्वलका अध्यक्ष राजु ढकालका अनुसार बिहानै झण्डा राखिएको ड्राम लडाइएको र फलामे पाइप पनि दोबारिएको अवस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीले सीसीटीभी फुटेजका आधारमा उनीहरुको पहिचान गरेको थियो । खवासलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएपछि भागेका थिए । स्थानीयले खेतमा लखेटेर नियन्त्रणमा लिइएको थियो ।
झण्डा फालेर युवाहरु विराटनगर–३ राजवंशी चोकमा सञ्चालित गजल रेष्टुरेण्टमा गएका थिए । साह दाजुभाइ पनि सो रेष्टुरेण्टका सञ्चालक रहेको स्थानीयको भनाइ छ । क्लवका अध्यक्ष ढकालले विराटनगरको पहिचान राष्ट्रिय झण्डाको लस्करले दिने भनेर मेहनतका साथ स्थापित गरेको बताएका छन् । ‘यो उपद्रो क्षमायोग्य छैन, राष्ट्रिय झण्डाको अपमान गर्नेलाई हदैसम्मको कारवाही हुनु पर्छ’ ढकालले भने ।
क्लवका सल्लाहकार तथा स्थानीय समाजसेवी मातृका भट्टराईले विराटनगरको पहिचानका लागि राखिएको झण्डा मध्यरातमा आएर फाल्नेलाई कठघरामा ल्याएर कानुनले सजाय दिनुपर्ने बताए ।
कोशी राजमार्गमा विराटनगर महानगर प्रवेश गर्ने द्वारमा कुनै वेला कलाकारले स्वागत गरेको तस्वीर राखिएको थियो । सडक विस्तारका क्रममा पुरानो भएको द्वार सानो भएको छ ।
View : 1922
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved