प्रतिनिधिसभा निर्वाचन
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा निर्वाचन मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार गुरुराज घिमिरेले सोमबार चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, युवा तथा सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै स्थानीय प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
घिमिरेले भ्रष्टाचारमुक्त शासन, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्ने तथा लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
कांग्रेस उम्मेदवार घिमिरेले विराटनगर–१९ बैजनाथपुरस्थित खेलमैदानलाई गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका रूपमा विकास गर्ने योजना अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
क्रिकेटसहित अन्य खेलका लागि आवश्यक संरचना निर्माण गरी उक्त ठाउँलाई खेल पर्यटनसँग जोड्ने घिमिरेले प्रतिबद्धता जनाएका हुन् ।
उनले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि,अंग्रेजी माध्यमको पठनपाठन विस्तार, सूचना प्रविधिमैत्री कक्षा सञ्चालन तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गर्ने योजना उल्लेख गरेका छन् ।
विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति व्यवस्था मिलाउने बताएका छन् ।
ग्रामथान क्षेत्रका विद्यालयमा ‘हरि–दुर्गा घिमिरे प्रतिष्ठान’ मार्फत छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने घिमिरेले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, आवश्यक औषधि तथा उपकरणको उपलब्धता र विशेषज्ञ सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बेलबारी–७ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशाला विस्तार तथा आकस्मिक सेवा सुदृढीकरण गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
पूर्वाधार विकासअन्तर्गत सुनसरी–मोरङ सिंचाइ आयोजनाअन्तर्गतका नहरहरू व्यवस्थित गरी नहरमाथि पक्की पुल निर्माण र सडक कालोपत्रे गरिने पनि उनको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
ग्रामीण सडक स्तरोन्नति, साना कल्भर्ट तथा पुल निर्माण, सौर्य सडकबत्ती जडान र ढल–नाला व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएका छन् ।
बेलबारी–५ कसेनी क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राखी संरक्षण तथा पूर्वाधार विकास गरिने प्रतिबद्धता पनि घिमिरेले जनाएका छन् ।
क्षेत्र नम्बर ४ मा पर्याप्त कृषि क्षेत्र रहेका कारण व्यावसायिक र आधुनिक बनाउने लक्ष्यसहित मल, बीउबिजनको सहज उपलब्धता, आधुनिक सिंचाइ विस्तार तथा जहाँ सिंचाइ सुविधा छैन त्यहाँ विद्युतमार्फत सिंचाइ व्यवस्था गरिने उल्लेख गरेका छन् ।
घिमिरेले सिंघिया नदीको बाढी नियन्त्रण र करिडोर निर्माणमार्फत दीर्घकालीन समाधान खोजिने योजना पनि प्रतिबद्धतामा समेटेका छन् ।
कृषि उत्पादनको संरक्षण, बजार सहजीकरण र बिक्री केन्द्र स्थापना गरी किसानलाई उचित मूल्य सुनिश्चित गर्ने घिमिरेको भनाइ छ ।
उनले बिना धितो युवाहरू ऋण उपलब्ध गराउने, स्वरोजगारमूलक तालिम सञ्चालन गर्ने तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि सारेका छन् । सहकारी तथा लघुवित्तको चर्को ब्याजदर नियन्त्रणका लागि पहल गर्ने समेत उल्लेख गरेका छन् ।
सिटी रिक्सा चालकलाई संगठित गरी सहुलियत दरमा चार्जिङ सुविधा उपलब्ध गराइने योजना पनि सार्वजनिक गरेका छन् ।
महिला तथा वृद्धवृद्धाका लागि निःशुल्क तीर्थाटन, विद्यार्थीका लागि शैक्षिक भ्रमण तथा विपन्न परिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने कार्यक्रम समेटिएको छ ।
मठ, मन्दिर, गुम्बा, चर्च तथा आयुर्वेद केन्द्रहरूको संरक्षण र स्तरोन्नति गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
त्यसैगरी, विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न पहल गरिने, व्यवस्थित शहरीकरणका लागि स्थानीय तहसँग समन्वय गरी दीर्घकालीन योजना ल्याइने तथा वार्षिक डुबान समस्याको समाधानका लागि गुरुयोजना तयार पारिने घिमिरेले बताए ।
पत्रकार सम्मेलनमा घिमिरेले आफ्नो प्रतिबद्धता कार्यान्वयनयोग्य र परिणाममुखी रहेको दाबी गरे । उनले मोरङ–४ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिमा नमूना निर्वाचन क्षेत्र बनाउने लक्ष्य रहेको बताए ।
को हुन् गुरुराज ?
मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे लामो समयदेखि विद्यार्थी राजनीति र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन् ।
२०४३ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरू गरेका घिमिरे २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका युवा नेता हुन् । उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव हुँदै २०५१ सालमा सभापतिसमेत बने । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, केन्द्रीय सह–महामन्त्री हुँदै २०५२ सालमा सम्पन्न नवौं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।
घिमिरे ग्रामथान गाउँपालिका–६ मा निवासी हुन् । उनले एमए, बीएड अध्ययन गरेका छन् । २०६२–६३ को जनआन्दोलनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे ।
विभिन्न चरणका आन्दोलनका क्रममा प्रहरीको लाठीचार्ज, हिरासत तथा जेल जीवनसमेत भोगेका उनको राजनीतिक जीवन संघर्षपूर्ण रहँदै आएको छ ।
नेपाली कांग्रेसको ११औं महाधिवेशनमा केन्द्रीय सदस्य मनोनीत भएका घिमिरे १३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । २०८२ पुस २७–३० गते सम्पन्न पार्टीको विशेष महाधिवेशनबाट उनी केन्द्रीय महामन्त्रीमा निर्वाचित भएका छन् ।
घिमिरेले विचार, कथा, कविता र संस्मरण विधामा सातवटा पुस्तक प्रकाशन गरिसकेका छन् भने थप तीन पुस्तक प्रकाशनको तयारीमा छन् ।
लोकतन्त्र, सुशासन र भ्रष्टाचारविरूद्धको अभियानलाई आफ्नो राजनीतिक एजेन्डा बनाउँदै उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा मतदाताको समर्थन माग्दै आएका छन् ।
View : 161
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved