Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

एनसेल वुमन आईसीटी अवार्डबाट सुनैनालाई

उद्घोष सम्वाददाता
१० पुष २०८०, मङ्गलवार

काठमाडौं । सुनैना घिमिरे पाण्डे ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मानित भएकी छन् । द सोल्टी काठमाडौंमा आयोजना गरिएको अप ग्राड आईसीटी अवार्डको समापन कार्यक्रममा पाण्डेलाई सो अवार्ड प्रदान गरिएको हो । यो पुरस्कारको राशी नगद ३ लाख  छ ।

सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघकी पहिलो महिला उपाध्यक्ष हुन् । उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन् । उनले क्यानको सचिव र  महासचिव भएर काम गरिसकेकी छन् । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्त रुपमा पाण्डेलाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गरेका थिए ।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले सो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण (डीईआई) नीति अनुरुप एनसेलले सो अवार्ड प्रदान गर्दै आएको छ । यो पुरस्कारको राशी नगद ३ लाख छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, 'समाजको भविष्य निर्माणमा सूचना प्रविधिको ठूलो महत्व छ । अरुका लागि प्रोत्साहन बनेका, प्रविधि र डिजिटल विकासमा योगदान पुर्‍याएका पाण्डेजस्ता महिलाहरुको सम्मान गर्न पाएकोमा हामी हर्षित छौं ।' 

‘एनसेल वुमन आइकन आईसीटी अवार्डद्वारा मेरो समर्पण, कडा परिश्रम र सूचना प्रविधिको क्षेत्रमा उत्कृष्टता हासिल गर्ने इच्छाको विशेष सम्मान गर्नु भएकोमा म एनसेल र आईसीटी अवार्डप्रति कृतज्ञ छु । यो अवार्ड मेरो कामको मात्र सम्मान नभई प्रविधिको परिवर्तनकारी क्षमतामा विश्वास गर्नेहरूको जोश, समर्पण र सामूहिक कार्यको कदर हो,’ पाण्डेले भनिन् । 

यस वर्ष वुमन आइकन आईसीटी अवार्ड विधामा  ३४ जना मनोनयनमा परेका थिए । ती मनोनयनहरुबाट सूचना प्रविधिको क्षेत्रमा पुर्‍याइएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कन पश्चात ७ जना महिलाहरु छनोटमा परेका थिए र उनीहरु मध्येबाट निर्णायक मण्डलले पाण्डेलाई विजयी छानेका थिए ।

View : 48

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved