Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

चन्दा सङ्कलन गरेर कक्षा सञ्चालन

उद्घोष सम्वाददाता
६ भदौ २०८१, बिहिवार

Advertisement

खोटाङ, ६ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका अभिभावकले चन्दा सङ्कलन गरेर कक्षा–११ र १२ को कक्षा सञ्चालन गरेका छन् ।

स्थापना भएको ४४ वर्षसम्म कक्षा–१० सम्मको मात्र पढाइ सञ्चालन हुँदै आएको पाथेकास्थित लुङथुङ कोलडाँडामा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा अभिभावकले चन्दा सङ्कलन गरेर यसै शैक्षिकसत्रदेखि कक्षा–११ र १२ को कक्षा सञ्चालन गरेका हुन् । 

विसं २०१७ मा स्थापना भएको सरस्वती माविमा कक्षा–११ र १२ सञ्चालनका लागि हालसम्म तीन सय ९८ चन्दादाताबाट  ३१ लाख सङ्कलन भएको प्रधानाध्यापक उत्रप्रसाद राईले जानकारी दिए ।

“सङ्कलित रकमबाट दुई शिक्षक तथा पाठ्य सामग्री खरिद गरेर यस वर्षदेखि कक्षा–११ को कक्षा सञ्चालन गर्दैछौँ । अहिले कक्षा–११ का लागि भर्ना अभियान चलिरहेको छ”, उनले भने, “अर्को वर्षदेखि कक्षा–१२ को कक्षा सञ्चालन हुन्छ ।” 

कक्षा–११ र १२ सञ्चालन गर्न चन्दा सङ्कलन जारी छ । अभियानअन्तर्गत  करिब  दुई करोड सङ्कलन गर्ने लक्ष्य छ । सङ्कलित रकमलाई खातामा जम्मा गरेर त्यसबाट आएको ब्याजले कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक  राईले बताए । 

भौगोलिकरुपमा विकट तथा विद्यार्थीको सङ्ख्या प्रर्याप्त भएकाले चन्दा सङ्कलन गरेरै भए पनि कक्षा–११ को कक्षा सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हात्तीराम राईले जानकारी दिए ।

“विद्यालयमा हाल कक्षा–१ देखि कक्षा १० सम्म तीन सय ३० विद्यार्थी अध्ययनरत छन् । पाथेकामा आठ सय २४ परिवार बसोबास गर्छन् । नजिकमा कक्षा–११ र १२ को कक्षा पढ्न विद्यालय छैनन् । केपिलासगढी गाउँपालिकाका दुई वडाका विद्यार्थीसमेत सोही विद्यालयमा अध्ययन गर्न आउँछन् ।   

माथिल्लो कक्षामा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा अध्ययन गर्न पाउने गरी तीनवटा विषयमा पठनपाठन सुरु गरिएको अध्यक्ष राईले बताए । पाथेकामा कक्षा–११ र १२ सञ्चालन गर्न तीन वर्षअघि नै पहल गरिएको हो ।

यसअघि कक्षा–११ र १२ अध्ययन गर्न सदरमुकाम दिक्तेल बजार तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो ।

कक्षा–११ र १२ सञ्चालन गर्न सरस्वती माविमा कार्यरत शिक्षक/कर्मचारीबाट  आठ लाख तथा पाथेकाका अन्य विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीबाट  १० लाख सहयोग सङ्कलन हुने उनले बताए ।

सरस्वती माविमा प्राथमिक तहमा पाँच, निम्न माध्यमिक तहमा चार र माध्यमिक तहमा तीन शिक्षक कार्यरत छन् ।

कक्षा–११ र १२ सञ्चालन गर्न विद्यालयका पूर्वप्रधानाध्यापक धनप्रसाद गिरीको संयोजकत्वमा २१ सदस्यीय सञ्चालन तथा समन्वय समिति गठन गरिएको छ ।  रासस
 

View : 135

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved