Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

खाद्यान्न भण्डारण र गुणस्तरबारे छलफल

उद्घोष सम्वाददाता
१८ जेठ २०८१, शुक्रवार

विराटनगर । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले किसानले उव्जाएका खाद्यान्नलाई कसरी सुरक्षित भण्डारण गर्ने र अन्नको गुणस्तरलाई कायम राख्ने भन्नेवारेमा छलफल गरेको छ ।

स्वचालित लोडिङ अनलोडिङ (सवारी साधनमा चढाउने र ओराल्ने) का कारण समय, श्रम र  पैसाको बचत, किसानले उत्पादन गरेको अनाजलाई लिलाम बढावढको सेवा स्वयम् उपलव्ध गराउने उद्देश्य लिएर अगाडि बढिरहेको कम्पनीका महाप्रबन्धक समिरराज सत्यालले जानकारी दिए । 

सो क्रममा आधुनिक प्रविधिको प्रयोग गरी कृषिजन्य उत्पादनलाई प्रशोधन, भण्डारण गरिएका कृषिजन्य उत्पादनको धितोमा बैंक तथा वित्तीय संघ संस्थाहरुमार्फत कृषक तथा व्यवसायीलाई ऋण प्रवाह गर्ने छ, साथै एकै ठाउँवाट किसानलाई आवश्यक बीउ, मलखाद कृषिजन्य उपकरणसमेत स्वयम् कम्पनीले उपलव्ध गराउने उद्देश्य लिएको उनले बताए । 

मण्डी (कृषि बजार) सञ्चालन गरी ब्यवसायी र किसानको खाद्यान्नलाई आधुनिक वल्क र ट्रकबाट सरल सहजरुपमा ढृुवानी गरी किसान र व्यापारीको लागतमा समेत कटौती हुने कम्पनीले विश्वास दिलाएको थियो । एकै स्थानवाट किसान र व्यापारीका सामग्री ढुवानी गरी लोड अनलोड (भारी चढाउने र ओरोल्ने) मा हुने झण्झट हट्न गइ लागतसमेत कम हुने कम्पनीको दावी छ । 

मण्डीमा कृषक, संकलक, व्यापारी तथा उत्पादकलाई भेला गराइ बजार निर्माण गर्न सहजीकरण गर्ने भएको हुँदा बाहिरका विचौलियाको समस्या व्यहोर्नु नपर्ने कम्पनीका राकेशकुमार वर्णवालले बताए । ढुवानी भाँडा प्रतिकिलो ५० पैसा र गोदाममा राखेको खाद्यान्नको सुकाइ वापत प्रतिमहिना ०.२५ प्रतिशत र ९ महिनासम्म २ प्रतिशतका दरले कट्टा गर्ने उनले बताए ।  

हाल सुनसरी, पर्सा र कपिलवस्तु जिल्लामा तीनवटा ईकाई कार्यालय स्थापना गरी कुल क्षमता ५५ हजार मेट्रिक टनको  अत्याधुनिक भण्डारण रहेको बताइएको छ । 

सुनसरीको औरावनीमा १५ हजार मेट्रिक टन र पर्साको विरुवागुठी इकाइ कार्यालयमा २५ हजार मेट्रिक टन बराबरको धान,गहुँ,  मकै र भटमास भण्डारण गर्न सकिने गरी गोदाम घर निर्माण  भएको छ । 

दशकौंदेखि कृषि क्षेत्रमा आवद्ध संस्था, बैंक, बीमा र भेञ्चर्स क्यापिटल कम्पनीहरुको लगानी रहेको सो कम्पनीले कम्पनीमा नै आवद्ध वित्तीय संस्थावाट सहुलियत दरमा ऋणको व्यवस्था गर्ने बताइएको छ । 

विराटनगरको होटल एशियाटिकमा भएको सो कार्यक्रममा विराटनगर, धनपालथान, ग्रामथान, कटहरी, सुनसरीको हरिनगर लगायतका स्थानवाट कृषक र उद्योगी व्यवसायीको उपस्थिति थियो ।

View : 148

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved