बिर्तामोड । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यसहित झापाको बिर्तामोडमा आगामी माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१’ हुने भएको छ ।
महोत्सवलाई चार भागमा विभाजन गरिएको हो । जसमा महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् ।
महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म आयोजना हुने बिर्तामोडमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
महोत्सवमा एक सय ५० वटा स्टल रहने र छुट्टाछुट्टै चार विधाका अलग–अलग स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार महोत्सवमा व्यापारसँगै कृषि क्षेत्रको उत्थानका लागि समेत कृषि उत्पादनलाई प्रबद्र्धन गरिने छ । कृषिका स्टललाई निःशुल्क गरिने उनको भनाइ छ ।
झापाकै ठूलो बजारका रूपमा रहेको बिर्तामोडमा आयोजना गरिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले व्यापार व्यवसायलाई प्रबद्र्धन गर्ने अपेक्षा राखिएको छ । महोत्सवले सानादेखि ठूला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रूपमा लिइएको अध्यक्ष न्यौपानेले बताए ।
महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरूलाई एउटै मञ्चमा भेटघाट गराई सामग्रीहरूको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने संघका उद्योग उपाध्यक्ष तथा महोत्सव संयोजक विशाल थापाले बताए ।
प्रदर्शनीकक्षमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरू, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल रहनेछन् ।
महोत्सवमा चर्चित कलाकारहरू तथा विभिन्न ब्याण्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । पूर्वी नेपालको व्यापारलाई अन्तर्राष्ट्रियस्तरबाट प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव बिर्तामोड–५ धर्मकँटा रोड, मंगल एकता टोलको खाली जमिनमा सञ्चालन हुने संघका कोषाध्यक्ष युवराज निरौलाले जानकारी दिए ।
View : 291
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved